पर्साको दोस्रो सदरमुकाम अर्थात् वीरगंजपछि पोखरियाको स्थान छ । वीरगंजपछि पोखरियामा शहरी विकास कार्यक्रम लागू भएको पनि हो । पञ्चायतकालदेखि बहुदलकालसम्म यहाँ बैंक तथा वित्तीय संस्था, जिल्ला प्रशासन कार्यालयको एकाइलगायत स्थापना भइसकेका थिए । यहाँ जिल्लास्तरको अस्पताल पनि त्यही बेलाकै देन हो । सबैभन्दा सुरक्षित स्थलमा सञ्चालन गरिनुपर्ने मानिएको तत्कालीन एसएलसी परीक्षा वीरगंजपछि पोखरियामा शुरू भएको हो । त्यसपछि मात्रै अन्यत्र गाउँगाउँमा परीक्षा केन्द्र सञ्चालन गर्न थालियो । जिल्लाको उत्तरी जङ्गल किनाराका गाउँहरूबाहेक अन्य क्षेत्रलाई हेर्ने हो भने पर्साको मध्यभागमा पोखरिया अवस्थित छ । यहाँको रानीगंज दरबारलगायतको इतिहास कोट्याउँदा वीरगंजभन्दा पनि अझ पहिले मानवबस्ती रहेको पाइन्छ । भनाइको अर्थ सुरक्षा, जनघनत्व, भौतिक पूर्वाधार र भौगोलिकरूपमा नागरिकलाई पायक पर्ने सेवाप्रवाहको हिसाबले जिल्लाका सेवाकेन्द्रका लागि उपयुक्त स्थान पोखरिया हो । यसो त ‘जसको लाठी उसैकै भैंसी’ भनेझैं शक्ति र सत्तामा हुनेहरूले आफ्नो अनुकूल स्थलमा सदरमुकाम कायम गर्ने पुरानै चलन हो । यस क्रममा कैंयन जिल्ला तथा अञ्चल सदरमुकामहरू स्थानान्तरण भए ।
जे भएपनि जिल्ला सदरमुकाम तय गरिंदा केन्द्रीय राजधानीसँग जोडिने स्थल वा हवाई यातायातको सुविधा र सुरक्षालाई मुख्य प्राथमिकतामा राख्ने गरिन्थ्यो । तर पनि जनभावना के छ त भनेर बुझ्ने चासो तत्कालीन शासकहरूमा नभएको होइन । विरोध भएमा मत्थर गर्ने चाल उनीहरू रामैसँग चल्थे । तत्कालीन अवस्थामा पोखरियामा जिल्ला प्रशासन कार्यालयको एकाइ स्थापना गरेर जिल्लाको मध्यभागका बासिन्दालाई केही राहत दिंदै असन्तुष्टि मत्थर गर्ने कार्य भएको हो । पोखरिया र सो आसपासका क्षेत्रका बासिन्दाका लागि केही भएपनि राहत भएको थियो । तत्कालीन जिल्ला पञ्चायत, पछि जिल्ला विकास समिति वीरगंजमा हुँदा गाउँका जनप्रतिनिधिहरू अधिक समय वीरगंज केन्द्रित हुनु स्वाभाविक थियो । प्रहरी, प्रशासन, अड्डा अदालत, मालपोत, नापी, भूमिसुधार, क्याम्पस, बैंक तथा वित्तीय संस्थालगायत जिल्ला सदरमुकाममा रहेकाले पनि नागरिक समुदाय अधिकांश समय सदरमुकाममा बिताउन बाध्य थियो । जसरी पनि जिल्ला सदरमुकाम धाउनै पर्ने भएपछि एउटा कुनै विषयको सेवाकेन्द्र अन्य कुनै स्थानमा राखिनुले खासै अर्थ हुँदैन, तब पनि जिल्ला प्रशासनको पोखरिया एकाइले भने नागरिकको राम्रै माया, समर्थन र संरक्षण पाएको थियो ।
जुनसुकै बहानामा पोखरिया सेवा एकाइ विस्थापित गरिएको भएपनि स्थिति सहज भएपछि त्यस्ता अतिआवश्यक कार्यालयहरू पुनस्र्थापित गरिनुपर्ने हो । कैंयन नयाँ सेवाकेन्द्र स्थापना गरिए तर पोखरियातर्फ सरकारको आँखा पुगेन । परिवर्तित अवस्थामा जिल्ला प्रशासन र मालपोत कार्यालयका कामबाहेक अब पर्साका सेवाग्राहीले वीरगंज धाउनुपर्ने खासै छैन । यस कारण पनि पोखरिया सेवा केन्द्र अति आवश्यक हो । जनस्तरबाट बारम्बार माग हुँदै आएको छ । धर्ना, आन्दोलन, विरोध प्रदर्शन बेलाबखत भइरहेका छन् । पहुँच नभएको पनि होइन । हरेक कार्याकालमा पोखरिया क्षेत्रका जनप्रतिनिधिको पहुँच सत्ताको उच्च तहमा पुगेकै छ । चुनावको बेला उनीहरू आफैंले सेवाकेन्द्रको कुरा उठाएका हुन् । तर फेरि केले रोकेको छ ? मतदाताले जवाफ खोज्ने बेला भो ।