बलिराम शुक्ला, बडनिहार, १४ असोज/
पर्साको पर्सागढी नगरपालिका वडा नं १ मनवा गाउँमा सोमवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जनसेवा अभियान अन्तर्गत पर्सा युवा फाउन्डेशनको आयोजनामा स्वास्थ्य परीक्षण तथा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा ९० जनाको स्वास्थ्य परीक्षण र ४५ जनाको आँखा चेकजाँच गरिएको थियो । शिविरमा जेनरल फिजिसियन डा चन्द्रभूषण सिंहले स्वास्थ्य परीक्षण र आँखाको चेकजाँच बडनिहार आँखा तथा दन्त अस्पताल बडनिहारका विशेषज्ञ विनय चौधरीले गरेका थिए ।
स्वास्थ्य परीक्षणमा अधिकांशमा मधुमेह, रक्तचाप र जोर्नी दुख्ने रोगीहरू रहेका र आँखा चेकजाँचमा १० जनामा मोतीबिन्दुको रोगी फेला परेका थिए । मोतीबिन्दुको निश्शुल्क शल्यक्रिया गरिने बडनिहार आँखा तथा दन्त अस्पतालका सञ्चालक जीतेन्द्र गिरीले बताए ।
त्यसैगरी, शिविरमा बढ्दो डेङ्गीबाट बच्नको लागि अपाङ्ग तथा विपन्न १० घरपरिवारलाई झुल पनि वितरण गरिएको सामाजिक अभियन्ता विक्रम कार्कीले बताए । शिविर पर्सागढी नगरपालिकाको नौवटै वडामा क्रमशः गरिने बताइएको छ ।