प्रस, वीरगंज, १४ असोज/
बाढीको कारण देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै सङ्घ सरकारले देशभरिका विद्यालय असोज १३ देखि १५ गतेसम्म तीन दिन बन्द गरेकामा वीरगंजका विद्यालयहरू भने सञ्चालनमा छन् ।
वीरगंजका संस्थागत र सामुदायिक विद्यालयहरू असोज १४ गतेदेखि सञ्चालनमा आएका छन् । एक दिन मात्र महानगरमा शैक्षिक बिदा रह्यो । सरकारले तीन दिन बिदा गरे पनि महानगरले वीरगंजमा बाढीको समस्या नभएको जनाउँदै विद्यालय सञ्चालन गर्न प्रधानाध्यापकहरूलाई निर्देशन जारी गरेको थियो । सोहीअनुरूप सोमवारदेखि विद्यालय सञ्चालनमा आएका हुन् । महानगरको शैक्ष्Fिक महाशाखाले ह्वाट्सएप, मैसेन्जरबाट सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई समस्या नभएको भन्दै विद्यालय सञ्चालन गर्न मौखिक निर्देशन दिएको थियो । सोमवारदेखि विद्यालय सञ्चालनमा आएदेखि सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या निकै कम रह्यो ।
संस्थागत विद्यालयमा ह्वाट्सएप, मैसेन्जरमार्फत समूह निर्माण भएकोले विद्यालयलाई सूचना जारी गर्न सहज भएको थियो भने यो सुविधा सामुदायिक विद्यालयहरूमा उपलब्ध नहुँदा विद्यार्थीहरू आउन सकेनन् । सामुदायिक विद्यालयमा सोमवार ३० प्रतिशत मात्र विद्यार्थी उपस्थित भएको शिक्षकहरूले बताएका छन् । सबैलाई सूचना प्रवाह हुन नसक्दा विद्यार्थी सङ्ख्या पातलिएको हो ।