•जसपाल सिंह

(बगैंचा वाटिका पार्क) लक्ष्मनवा, बारा जिल्लाको कलैया जाने बाटो तथा बाइपास सडक प्रतिमा चोकबाट नजीक उत्तर–पूर्वमा अवस्थित छ ।

लक्ष्मनवा पार्क, धेरै वर्षअगाडि तत्कालीन नगरप्रमुख विमलप्रसाद श्रीवास्तवको कार्यकालमा निर्माण गर्ने सोचका साथ अघि सारिएको थियो । अञ्चलाधीश लक्ष्यबहादुर गुरुड्ढो पालामा आदर्शनगरको पुरानो बसबिसौनीलाई नगरभन्दा अलि बाहिर राख्नु बेस हुनेछ भनी यस स्थानमा सार्ने भन्ने सोच, बहस एवं तर्क राखिएको थियो । केही वर्ष अघि कालिका कन्स्ट्रक्शन (व्यावसायिक निर्माण संस्था) ले वीरगंजमा ठूलो नाला, नाला तथा विभिन्न निर्माण कार्य गर्ने क्रममा यस स्थानलाई गोदाम, कार्यालय तथा निवासको रूपमा प्रयोग गर्न कम्पनीले माटो भर्ने, पर्खाल, कार्यालय, निवास कोठा, निर्माण गरी बत्ती, पानी व्यवस्थित गरी प्रयोग गर्ने, उपरान्त प्रयोग गर्न बनाइएको हल, कोठा, पर्खाल तथा अन्य सुविधाहरू निर्माणसम्बन्धी काम सकिएपछि छोडेर जाने भन्ने शर्तमा सो स्थान कालिका कन्स्ट्रक्शनलाई दिएको बुझिन्छ । हाल यसमा एउटा सभाहल, दुई/तीन वटा कोठा, टहरा, हल, शौचालय रहेका छन् । अव्यवस्थित रूख, बोटबिरुवा, झ्याङ तथा केही सिमेन्टका विद्युत् पोलहरू राखिएका छन् ।

हाल यस स्थानलाई ज्येष्ठ नागरिक उद्यान (पार्क) पनि भनिन्छ, पूर्वनगरप्रमुख विजय सरावगीले उक्त स्थल नगरसभाबाट पारित गरी ज्येष्ठ नागरिक पार्क घोषणा गरी शिलालेख राख्न लगाएका थिए । तर हालसम्म उक्त स्थानमा खास काम नभएको बताउँछन्, वीरगंजका समाजसेवी तथा ज्येष्ठ नागरिक पशुपति विक्रम शाह । उनी ज्येष्ठ नागरिक सङ्घका संस्थापक अध्यक्ष पनि हुन् । तीन वर्षे दुई कार्यकाल अध्यक्ष रहेपछि, पत्रकार एवं ज्येष्ठ नागरिक जगदीशप्रसाद शर्मा एक कार्यकालका लागि यस संस्थाका अध्यक्ष रहे (हाल मधेस प्रदेश ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष) । भारतीय दूतावासले पनि यसमा चासो देखाएर राम्रै रकमको परियोजनाको डिपिआर तयार गरी नेपाल सरकारमा पठाइसकेको छ । तर केन्द्रबाट स्वीकृत भएर आएको छैन, ज्येष्ठ नागरिक एवं पूर्वअध्यक्ष जगदीशप्रसाद शर्मा बताउँछन् ।

हाल वरिष्ठ समाजसेवी एवं ज्येष्ठ नागरिक श्यामकुमार पोखरेल यस संस्थाका अध्यक्ष छन् । यस स्थानमा हरेक महीनाको पहिलो शुक्रवार ज्येष्ठ नागरिकहरूको भेटघाट हुने गर्छ । समयसमयमा ज्येष्ठ नागरिकहरूद्वारा विभिन्न कार्यक्रम पनि गरिन्छ । केही चिकित्सकहरूले समयसमयमा उहाँहरूको स्वास्थ्य परीक्षण, सल्लाह सुझाव पनि दिने गरेका छन् । कथंकदाचित कतैबाट कुनै सहयोग तथा वीरगंज महानगरपालिकाबाट प्राप्त भएको रकमलाई मुद्दती खातामा राखी सो रकमबाट आउने आम्दानीद्वारा प्राप्त हुने रकमबाट सूचीकृत ज्येष्ठ नागरिकहरूलाई मासिकरूपमा ड्राई–फ्रूटको पोका दिने व्यवस्था गरिएको छ, साथै अन्य कार्यक्रमहरू गर्दा हुने विभिन्न खाले खर्चहरू पनि सोही रकमबाट गर्ने गरिन्छ र सो रकम नितान्त अपुग रहेको ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू बताउँछन् ।

ज्येष्ठ नागरिकहरू हाम्रा अभिभावक तथा अग्रज हुन् । उहाँहरू नभएको भए हामी पनि हुने थिएनौं । उहाँहरूलाई हाम्रो माया, समय, स्याहार तथा साथ चाहिन्छ । उहाँहरू जीवित देउता एवं गुरु हुन्, मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च तथा गुम्बाहरूको आप्mनो महŒव छ, तर उहाँहरूको सेवा प्रत्यक्ष इष्ट सेवाभन्दा शिरोपर हुन्छ ।

पैसा मात्र खन्याएर हुँदैन, उहाँहरूसित समय बिताउने, नयाँ–पुराना कुरा सम्झने, साझा गर्ने, समय निकालेर हाँस्ने–रमाउने गर्नुपर्छ । उहाँहरूको कुरा ध्यानले सुन्ने, कदर गर्ने, सँगै बसेर मनोरञ्जन एवं रमाइलो गर्ने, अनुभवहरू साटासाट गर्ने, उहाँहरूको अनुभव हाम्रो धरोहर हो, उहाँहरू हाम्रा मार्गदर्शक हुन्, हामीले धेरै कुरा सिक्न सक्छौं, सिक्नुपर्नेछ तथा सचेत हुनुपर्नेछ । उहाँहरूलाई सुविधासम्पन्न आश्रममा राखेर आपूmभन्दा टाढा राखेर एक्लाएर, उहाँहरूको मनोबल तोडेर, उहाँहरूको आशा तथा खुशीयालीमाथि कुठाराघात गर्नु अन्याय हुनेछ । उहाँहरूलाई स्वस्थ परिवेशमा जिउने वातावरण बनाउनुपर्छ । हामी साना हुँदा उहाँहरूले हाम्रो औंला समाएर हिंड्न सिकाए, कखरा लेख्न र पढ्न सिकाए, आपूm भोको बसेर हामीलाई मीठामीठा खानेकुरा खुवाए, हामीलाई सुताउने प्रयासमा स्वयम् कति रात जागेर बिताए, हाम्रा नाना–थाङ्ना सफा गरे, हामीले सस्तो महँगो कतिपय घरायसी सामान, खेलौनाहरू फुटाल्यौं केही भनेनन् । आज समय आएको छ हामीले सो ऋण तिर्ने, तिर्ने नभनौं सेवा चुकाउने वा गर्ने । उहाँहरूलाई आपूmबाट अलग नराखौं, टाढा नपठाऔं । ज्येष्ठ नागरिकहरूको सम्मान गरौं । आजको यस भागदौडको जीवनमा घरका सबैजना कामकाजी भएकाले, वृद्धवृद्धाले आपूmलाई एक्लो तथा उपेक्षित महसूस गर्ने गरेका छन्, त्यस कारण उहाँहरूमा डिप्रेसन, फ्रस्टे«शन, अल्जाइमर्स, डिमेन्सिया, झर्कने, रिसाउने तथा अन्य विभिन्न रोग देखा परेका छन् । ज्येष्ठ नागरिक मरेपछि श्राद्ध गर्ने कुराभन्दा जीवितमा श्रद्धा गरौं ।

हाल वीरगंजको बढ्दो जनघनत्व, अव्यवस्थित तथा अवैध निर्माणले रुमलिएको, नगरभित्र नगरवासीको सहज एवं सरल पहुँचमा रहेको उक्त उद्यानलाई व्यवस्थित गर्ने हो भने ज्येष्ठ नागरिक तथा नगरवासीहरूका लागि खासगरी उक्त क्षेत्र वरिपरिका बासिन्दाहरूका लागि यो एउटा योग, ध्यान, व्यायाम, ज्ञान, विज्ञान तथा मनोरञ्जनको लागि अति असल, उपयुक्त तथा रमणीयस्थल हुनेछ भन्ने कुरामा कुनै शङ्का छैन । यसलाई रमणीय बनाउनको लागि विशेषज्ञ तथा विज्ञलाई अनुबन्धित गरी एउटा विशेष अवधारणा, रूपरेखा बनाइ, नक्शाङ्कन गरी बगैंचा, उद्यान, वातावरणीय, स्वास्थ्यबर्धक रूख, पूmल, फल, बोटबिरुवा, हरियो घाँस, पैदल पथ, फौबारा झरना, पोखरी तथा केही राख्न सक्ने मानवमैत्री जनावर पनि समावेश गर्न सके अझ आर्कषण थप्न सकिन्छ भन्ने हाम्रो परिकल्पना रहेको छ । यसमा हाल केही कामचलाउ व्यायामका उपकरणहरू रहेका छन् तर पर्याप्त छैन । केही आधुनिक उपकरण, खेलकूदका सामग्री–जस्तै चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, पत्रपत्रिका, पुस्तकालय, सङ्गीतका सामग्री आदि
राखेर यस उद्यानलाई अति उपयुक्त रमणीय समय बिताउने केन्द्रीय स्थलको रूपमा परिणत गर्न सकिन्छ ।

यसको अवस्था अति दयनीय एवं कारुणिक रहेको महसूस हुन्छ । वीरगंज महानगरपालिका अथवा सम्बन्धित निकायले चाहने हो भने एक महीनाभित्र यसको स्वरूप फेर्ने क्रम शुरू हुन सक्छ । यस क्षेत्रमा सम्पन्न, विद्वान्, नेता तथा चर्चित पत्रकारहरूको पनि बसोवास रहेको छ, तापनि यसबारे उनीहरूका अवधारणा, विचार तथा आवाज किन नआएको होला, किन नसुनिएको होला, आश्चर्य लाग्छ । चारैतिर वातावरण, ध्वनि प्रदूषणले जनजीवन अस्तव्यस्त भई त्राहिमाम भएको अवस्थामा पनि जनता तथा सरकार सबै चुप भएको देख्दा हाम्रो चेतना, विवेक, ज्ञान, शिक्षा तथा सोच कहा अलमलिएको हो जस्तो लाग्छ । सबैलाई चेतना भया ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२४ को अवसरमा ज्येष्ठ नागरिक सङ्घ पर्साका पाका व्यक्तित्वहरूको सम्मानमा सादर समर्पित !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here