आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो । यो दिवस प्रत्येक अक्टुबर महीनाको पहिलो दिन मनाइन्छ । सन् १९९१ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेर यो दिवस औपचारिकरूपमा मनाउन थालिएको हो । हुनत आजको दिनसम्म आइपुग्दा विश्वमा दिनहुँ कुनै न कुनै दिवस मनाउने गरिन्छ । यसको उद्देश्य यत्ति मात्र हो कि आजको अति नै श्रमसाध्य र सङ्घर्षपूर्ण विश्वमा मानिसलाई हेक्का रहिरहोस् कि उसका दायित्वहरू के–के हुन् । यद्यपि सामाजिक, राजनीतिक, सांस्कृतिक दायित्वहरू जहिले पनि विद्यमान थिए, र आज पनि छन् । तर आज दायित्वहरू जटिल बनेका छन् । अब यही ज्येष्ठ नागरिक दिवसको कुरा गरौं । पहिले वृद्धावस्था समस्याजस्तो लाग्दैनथ्यो । संयुक्त परिवारको परिपाटी थियो । आज संयुक्त (तीन पुस्तासँगै बस्ने) र एकल परिवार (दुईपुस्तासँगै बस्ने)को कुरै छाडौं एकल परिवार पनि न्युक्लियस बन्न पुगेको छ । यसले गर्दा खासगरी वृद्धवृद्धाहरूलाई अप्ठ्यारो पर्ने स्वाभाविक हो । किनकि उनीहरू शारीरिकरूपले कमजोर बन्दै जाने हुँदा एक्लै आप्mनो काम गर्न सक्षम हुँदैनन् । उनीहरूलाई सहारा चाहिन्छ नै, त्यो सहारा परिवारले देओस् अथवा पारिश्रमिक लिएर सेवा दिने परिपाटीको विकास गरियोस् ।
सशुल्क सेवा हाम्रोजस्तो मुलुकमा सोच्ने कुरा मात्र हो, गर्न सक्ने भनेको केही मुठ्ठीभर मानिसले हो । त्यसमा समाज अगाडि बढ्नुपर्छ । त्यही चेतना विकासका लागि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।
हाम्रो समाज सामाजिक र सांस्कृतिक रूपले परिवर्तनको दोसाँधमा छ । संयुक्त परिवारको विघटन आजको अनिवार्य आवश्यकता बनेको छ । चाहेर पनि हामी परिवारलाई संयुक्तरूपमा सञ्चालन गर्न सक्दैनौं । आज रोजगार, व्यवसाय, उद्यम, अवसर सबै एकै ठाउँमा प्राप्त हुँदैन । यसको खोजी र सफलताको लागि मानिसले भौंतारिनुपर्छ । यस क्रममा परिवारको विघटन हुन्छ । झन् आज त नेपालजस्ता अविकसित मुलुकहरूमा, जहाँ सामाजिक, राजनीतिक अस्थिरता हुन्छ, जसले गर्दा युवा पुस्ताले स्वदेशमा आप्mनो भविष्य देखिरहेको हुँदैन । अनि अध्ययनको नाउँमा ऊ विदेश छिर्छ र उतै घरजम गरेर बस्छ । यस्तोमा अघिल्लो पुस्ता एक्लो पर्न जान्छ ।
यो त समस्याको एउटा पाटो भयो । अर्को पाटो झन् भयावह छ । त्यो हो, ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या वृद्धि । सन् २०१९ मा विश्वमा ६५ वर्ष उमेर नाघेका व्यक्तिहरूको सङ्ख्या चानचुन ७३ करोड थियो भने सन् २०५० सम्म यो सङ्ख्या बढेर एक अर्ब ६१ करोड पुग्ने आकलन गरिएको छ । त्यसमा पनि ६५ वर्ष उमेर पुगेका व्यक्तिहरूको अब १६.६८ थप बढी बाँच्ने आकलन छ । सन् २०३० सम्म वृद्धहरूको सङ्ख्या युवाहरूभन्दा बढी र ५ वर्षका केटाकेटीहरूभन्दा दोब्बर पुग्नेछ ।
शारीरिकरूपले अशक्त–कमजोर हुँदै गइरहेको ज्येष्ठ नागरिकहरूको सङ्ख्या यसरी बढ्नु भनेको उनीहरूको हेरचाह, स्वास्थ्य, आजीविकाका लागि थप लगानीको आग्रह हो । यस जनसङ्ख्याको आजदेखि नै उचित व्यवस्थापन गर्न नसक्ने हो भने रोग, भोक, शोकले विश्व जनसङ्ख्याको एउटा ठूलो भाग पीडित हुनेछ । तसर्थ आज विश्वको ध्यान यसको समायोजनमा लागेको छ ।
यत्रो ठूलो जनसङ्ख्यालाई कसरी रोगमुक्त राख्न सकिन्छ, कसरी समाजका लागि यिनलाई उपादेयपूर्ण बनाउन सकिन्छ, आजको ज्वलन्त समस्या हो । कि सरकारले पूर्णरूपले यो जनसङ्ख्याको हेरचाह गर्नुपर्ने हुन्छ, अथवा के गर्नुपर्छ आजदेखि नै सोचिएन भने भोलि समय भिडकीसक्छ । ज्येष्ठ नागरिकलाई क्रियाशील बनाएर सकभर रोग, शोक र भोकबाट जोगाउन सकियो भने समस्याको ठूलो पाटो समाधान हुन सक्छ । त्यसका लागि विस्तृत दृष्टिकोण, सामाजिक समन्वय, तत्पर सरकार नै चाहिन्छ । विकसित मुलुकहरूले यस सम्बन्धमा पहल गरिसकेका छन्, हाम्रोजस्तो मुलुक, जहाँ ऊर्जावान जनसङ्ख्यासमेत व्यवस्थापन गर्न सक्ने अवस्था छैन, भोलि समस्याको रूपमा देखा पर्ने जनसङ्ख्याका लागि कसले सोच्ने भन्ने प्रश्न खडा हुनु स्वाभाविक हो ।
विश्वमा जतिजति शहरीकरणको राप बढ्दै जान्छ, ज्येष्ठ नागरिकहरूको समस्या जटिल बन्दै जान्छ । शहरीकरणले उच्च जीवनशैली खोज्छ, सुविधाका सामग्रीहरूको जोहोलाई प्राथमिकता दिन्छ । यसका लागि परिवारको ऊर्जावान सदस्यले घर–परिवार, नगर पनि भन्न नपाई विभिन्न ठाउँमा दौडाहा गर्नुपर्छ र यसमा सबैभन्दा उपेक्ष्Fित ज्येष्ठ नागरिक नै बन्छ ।
एउटा उपेक्षा हुन्छ परिस्थितिप्रदत्त, चाहेर पनि केही गर्न नसक्ने । अर्को गम्भीर उपेक्षा हो–सन्तानले ज्येष्ठ नागरिकलाई उपयोगिताविहीन ठानेर वास्ता नगर्नु, हेला गर्नु, गालीगलौज–कुटपिटजस्तो अधम कार्य गर्नु । ज्येष्ठ नागरिक सङ्घ पर्साको गठन भएपछि यस्ता कैयौं समस्याहरूको सामना म स्वयंले गरेको छु । केही मुद्दा मिलापत्र गराइएको छ, केही प्रशासनको सहायता लिएर समाधान गरिएको छ भने केही स्वयं ज्येष्ठ नागरिकको अवशताका कारण थान्को लागेको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिएर धेरै हदसम्म ज्येष्ठ नागरिकप्रति दायित्व निर्वाह गरेको छ, तर भोलि आइपर्ने भयावह समस्याप्रति सोच राखेको देखिए पनि कार्यान्वयनको पक्ष भने उदेकलाग्दो छ । एउटा सामान्य वास्तविकता हो, शहरीकरणले निम्त्याएको हरियालीको अभाव । हरियालीले मानिसको मन–मस्तिष्कलाई ताजा बनाई भौतिक देहलाई पनि फाइदा पु¥याउँछ । तर वीरगंज महानगरपालिकाले संरक्षणको जिम्मा दिएको ज्येष्ठ नागरिक पार्कलाई व्यवस्थित गर्न भारतीय राजदूतावासले दिन लागेको सात करोड रुपियाँ नेपाल सरकारका सम्बद्ध मन्त्रीले ‘पार्क हाम्रो मापदण्डमा पर्दैन’ भनेर स्वीकृति दिन इन्कार गरेका छन् ।
सरकारले ७० नाघेका ज्येष्ठ नागरिकका लागि रु १ लाखको निश्शुल्क स्वास्थ्य बीमा योजना ल्याएको छ, त्यो कर्मचारीतन्त्रको रूमलोमा फसेर मुश्किलले कसैकसैले उपभोग गर्न पाएका छन् । त्यसैलाई बढाएर रु ५ लाख पु¥याउने कुरा उठेको छ, तर रकम मात्र बढाउने कि त्यसबाट ज्येष्ठ नागरिकले लाभ पनि पाउने, खोई जागरुकता ? यस्तै सवालमा स्थानीय सरकारहरू पनि चुकेका छन् । संविधानले, सरकारले ज्येष्ठ नागरिकको हितका लागि निर्देश दिएको काम पनि यिनले सही ढङ्गले गर्न सकेका छैनन् । एकल वृद्धवृद्धाहरूका लागि दिवा सेवा, स्वास्थ्य परामर्श सेवा, वृद्धाश्रम, हरित उद्यानजस्ता कुराहरू यिनको भिजनमा नै छैन । गर्न खोज्नेलाई पनि यथोचित सहयोग गर्न कन्जुस्याइँ होइन, मतिहीन मापदण्डको तगारो तेर्साउने मन्त्रीहरूको उदाहरण माथि उल्लेख गरि नै सकिएको छ । स्थानीय सरकारहरू पनि त्यस्तै मतिहीन गोरेटोलाई राजमार्ग ठानेर हिंडिरहेका छन् ।
सरकारले विभिन्न जटिल रोगहरूमा आर्थिक सहयोग पनि गर्ने गरेको छ तर प्रश्न के हो भने रोगको उपचारमा अक्षता छरेजस्तो केही व्यक्तिलाई केही रकम उपलब्ध गराउने कि रोग लाग्न नदिने वातावरण बनाउन अघि सर्ने ? शारीरिकरूपले अशक्त जनसङ्ख्या जहाँ बढ्दै छ, त्यहीं शहरीकरणले तिनमा मानसिक समस्याहरू पनि त्यही गतिमा बढाइरहेको छ । कारण जे होस्–आज मुटुरोग, क्यान्सर, मिर्गौलाजस्ता दीर्घ र नसर्ने रोग जुन गतिमा बढिरहेको छ, त्यो सबको उपचार के नेपाल सरकारबाट सम्भव छ ? कदापि छैन, अनि प्रतिकारको बाटो किन नसमाउने ? यो समस्या आप्mनो ठाउँमा छ, आज वृद्ध नागरिकमा मानसिक रोग पनि बढ्न थालेको छ । स्मरणशक्ति क्षय हुँदै जानुलाई स्वाभाविक मानिए पनि अल्जाइमर, डिमेन्सिया, अवसादजस्ता रोग लागेपछि कुन उपचारले छोला ? सबैले भनेका छन्–प्राचीनकालदेखि आजसम्म र भोलि पनि सबैले भन्नेछन्–रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । देशमा प्रदूषण छ, खाद्यान्न मिलावटले प्रदूषित छ, सागसब्जीहरू रासायनिक विषबाट निथ्रुक्क छन्, माछा–मासु के शुद्ध छ ? स्याउमा मइन लपेटिएको हुन्छ, आँप कारबाइडमा पकाइन्छ, कुखुरा त कुखुरा लौकासमेत हार्मोन हालेर हुर्काइन्छ । आज कुनै यस्तो खाद्य पदार्थ छैन, जुन प्राकृतिकरूपमा उपलब्ध होस् । यसले केटाकेटी र वृद्धवृद्धाहरूलाई बढी असर पार्ने हो । खोइ कसैले चासो राखेको ? विसङ्गति रोक्दा मात्र हुने लाभका लागि पैसा खर्च गर्नु, नागरिकलाई सास्ती सहन बाध्य पार्नु कतिसम्म बुद्धिमानी हो ?