अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो, कटान र डुबानबाट मुलुकमा ठूलो धनजनको क्षति भयो । असोज १० देखि १३ गतेसम्म मुलुकभर भएको मानवीय साथै धनजनको क्षतिले यतिबेला मुलुक स्तब्ध छ । उद्धारको क्रम सकिएको छैन । हुनत असोज महीना लागेपछि वर्षाको कारण यति ठूलो क्षति भएको घटना विरलै होला । कतिपय वर्ष दशैंसम्म नै पानी परेको हुँदा हिले दशैं नमनाइएको पनि होइन, तर यति घातक प्रकृतिको विपत्ति भने भएको थिएन । मौसम पूर्वानुमान महाशाखाले अग्रिमरूपमा खतराको सङ्केत दिएको थियो । ‘असोजमा हुने बर्खाले खासै क्षति पु¥याउँदैन’ भन्ने सोचका कारण सावधानी अपनाएको पाइएन । यसले गर्दा पनि केही क्षति बढी हुन गएको हो । विपद् टरेको छैन, बर्खा पुनः हुने मौेसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यतिबेला मुख्यतः तीनवटा पक्षमा सतर्कता अपनाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ । पहिलो कुरा बितेको प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धारलाई निरन्तरता । बाढी, पहिरो, डुबान क्षेत्रका हजारौं बासिन्दा गाँस, बासको समस्यामा छन् । बचेका चौपायाहरूको बिचल्ली त्यस्तै छ । धेरैजसो स्थलमा खानेपानीको व्यवस्था छैन । टाढाबाट पाइप धारा पु¥याइएका क्षेत्रहरूमा पाइप नै पहिरोमा परे पछि काकाकुल छ । मुहान पुरिएका स्थलहरूको अवस्था पनि त्यस्तै छ । अर्को बाढी, पहिरो तथा डुबान अगावै सुरक्षित स्थलमा स्थानान्तरण गर्न नसके फेरि थप जोखिममा पर्ने सङ्ख्या ठूलो छ । दोस्रो कुरा अब फेरि हुने वर्षाबाट थप क्षति हुन नदिन सावधानी अपनाउनुपर्नेछ । साथै अग्रिम चेतावनीका बावजूद पनि भइरहने गरेको क्षतिलाई अब दोहोरिन नदिन मुलुकलाई सम्पूर्णरूपले तयारी गर्नुपर्नेछ । तेस्रो पक्ष भनेको बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपत्तिपछि महामारी निश्चित छ । त्यो महामारीको चपेटबाट जोगाउनु र जोगिनुपर्नेछ । महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्छन् । अब पानी, हावा र कीटजन्य रोगहरूको सम्भावना बढी हुन्छ । बाढीपहिरोका कारण पानीका मुहान प्रदूषित हुने हुँदा त्यस्ता पानीको सेवनबाट झाडापखाला, हैजालगायतका रोगहरूको महामारी फैलन सक्छ । त्यसैगरी, जताततै दूषित पानी, जमेको पानी, नदीले पुरेको कारण कीटजन्य रोग डेङ्गु, मलेरिया, स्क्रब टाइफसलगायतको सङ्क्रमण बढ्न सक्छ । विपत्तिमा परी सडेगलेका जीव तथा वनस्पतिहरूको दुर्गन्ध अब फैलन शुरू हुन्छ । यसले सास प्रणालीका रोगहरूको सङ्क्रमणको सम्भावना बढ्नेछ । त्यसैगरी, प्रदूषित हावाबाट विभिन्न प्रकारका जीवाणु र भाइरस फैलिन सक्छन्, जसले निमोनिया, इन्फ्लुएन्जा, एलर्जिक समस्या निम्त्याउँछन् ।

यसको निम्ति कसले गरिदेला होइन, तीनै तहको सरकार र नागरिकस्तरबाट अविलम्ब प्रयास थालिनुपर्छ । विपत्तिमा परी घाइते भएकाहरूको उपचार र सम्भावित महामारीबाट निम्तिन सक्ने रोगविरुद्ध उपचारका लागि सङ्घ सरकारले पर्याप्त स्वास्थ्य सामग्रीसहितको टोली खटाउन विलम्ब गर्नुहुन्न । क्षतिग्रस्त स्थल, प्रभावित र जोखिम क्षेत्रका बासिन्दालाई उद्धार गर्न स्रोतसाधनसहित सुरक्षाकर्मी खटाइनुपर्छ । यसरी उदार गरिएकाहरूलाई गाँस, बास र सञ्चारको दायित्व प्रदेश र स्थानीय तहले लिनु उचित हुन्छ । नागरिक समाज तथा राजनीतिक दलहरू उद्धार टोली र आश्रयस्थलको व्यवस्थापन पक्षको जनश्रम तथा समन्वयात्मक सहयोगमा जुट्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here