प्रस, पोखरिया, १३ असोज/
पोखरिया नगरपालिकास्थित जिल्ला अस्पताल पोखरियामा आइतवारदेखि राष्ट्रिय मुक्ति क्रान्ति अभियानका केन्द्रीय सदस्य नेजामुद्दीन समानी नेतृत्वमा अनिश्चिकालीन धर्ना शुरू भएको छ ।
समानी नेतृत्वमा आज दुई घण्टा धर्ना दिइएको थियो । पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरिएको तर कार्यान्वयनमा नल्याएको, जिल्ला प्रशासन, भूमिसुधार तथा मालपोत र नापी कार्यालयका सेवा केन्द्र स्थापना नभएका मागहरू राखी आजदेखि अनिश्चिकालीन धर्ना गरिएको नेता समानीले बताए ।
उनले वीरगंज केन्द्रित सरकारी कार्यालयहरूका सेवा केन्द्र स्थापनाका लागि बारम्बार प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँदै आएको तर आश्वासन मात्र पाएको र कार्यान्वयन नभएको भन्दै अनिश्चिकालीन धर्नाको विकल्प नभएको बताए । उनले पोखरिया अस्पतालको भवन, जगतपुरमा बर्थिङ सेन्टर भवन अहिलेसम्म आधा अधूरो अवस्थामा राखिएको र पूरा गराउनका लागि दबाबस्वरूप धर्ना गरिएको जानकारी गराए ।
उनले पोखरिया नगरपालिकामा पनि पछिल्ला समयमा बेथिति बढेको र त्यसको विरोधमा पनि अनिश्चितकालीन धर्ना गरिएको बताए ।
कर्मचारीहरूको अनधिकृत भर्ना, तलब सुविधा वितरणमा ढिला, ठेकेदारहरूको भुक्तानीमा विलम्ब अनि विकास निर्माण योजनाहरू लथालिङ्ग भताभुङ्ग अवस्थामा राखेर आर्थिक अनियमितता भएको महसूस गरी आन्दोलनमा उत्रिएको नेता समानीले बताए ।