प्रस, रौतहट, १३ असोज/
रौतहट जिल्लामा बाढीबाट दुईजना र करेन्ट लागेर एकजना गरी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले परोहा नगरपालिका–७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको बाढीमा परेर मृत्यु भएको जनाएको छ । यसैगरी, दुर्गाभगवती गाउँपालिका–४ पचरूखी बस्ने ४० वर्षीय राजकरण मुखियाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिप्रकाले जनाएको छ ।
त्यसैगरी, बौधीमाई नगरपालिका–२ इनर्वामा आफ्नै घरको हाते कलको पानी खानको लागि हैन्डल समात्दा करेन्ट लागेर १४ वर्षीय बालक अनिल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीका कारण रौतहट जिल्लामा वृन्दावन, गढीमाई, माधवनारायण, दुर्गाभगवती, यमुनामाई, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधीमाई, मौलापुर, देवाही, कटहरिया पालिकाका बासिन्दाहरू प्रभावित भएका छन् । बाढीबाट छजना सामान्य घाइते, १२३ जनाको उद्धार गरिएको, एक हजार ८०५ घरधुरी विस्थापित भएका, पाँच हजार ५५५ जना मानिस बाढीबाट विस्थापित भएका छन् ।
यसैगरी, चारजनाको घर भत्केको, एक हजार २४५ वटा घर डुबानमा परेको, एउटा गाईसमेत पाँचवटा चौपाया मरेका र सात ठाउँमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
आइतवारदेखि बाग्मति र लालबकैया नदीमा पानीको सतह अलिकता कम भएको छ । गढीमाईको लक्ष्मीपुर, रजबाडा, राजदेवीको करबानामा बाँध भत्किंदा बाढीको प्रकोप गौर नगरपालिकामा परेको थियो । गौरमा बाढीको पानी पसेपछि भारतीय सीमामा रहेको बाँधको सुलिस गेट खोलिएपछि बिस्तारै पानीको निकास भइरहेको स्थानीयले बताए ।