प्रस, वीरगंज, १३ असोज/
वीरगंजस्थित नेपाल मेडासिटी वयोधा अस्पतालले आइतवार साँझ गहवामाई मन्दिर परिसरमा नाचगानसहित जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाएको छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू गहवामाई मन्दिरमा भेला भएर आइतवार साँझ नाचगान गरेका थिए । उनीहरूले नाचगानको माध्यमबाटै मुटु स्वस्थ कसरी राख्नेबारेमा सचेतना गराएका थिए । वयोधा अस्पतालले गहवाइमाई मन्दिरमा कार्यक्रम गर्नु अघि जिल्ला प्रहरी कार्यालयमा पनि नाचगानकै माध्यमबाट स्वस्थ मुटुसम्बन्धी जनचेतना फैलाएको थियो ।
यसैगरी, गहवामाईबाट उनीहरूले सोही कार्यक्रम वीरगंजको भाटभटेनी सुपरमार्केटमा पनि गरेको अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा मनबोध साहले बताए ।
उनले कार्यको लागि मुटुको प्रयोग नारासहित प्रत्येक वर्ष विश्व मुटु दिवसमा जनचेतना फैलाउँदै आएको र यस वर्ष पनि सोही अवसरमा नाचगानको माध्यमबाट जनचेतना फैलाउने कार्य गरिएको बताए । शरीरको अभिन्न अङ्ग मुटुको सकारात्मक कार्यको लागि निकै महŒवपूर्ण भएको सबैलाई थाहा भएपनि अव्यवस्थित जीवनशैली, रहनसहन एवं अनियमित, अस्वस्थकर खानपानले गर्दा मुटुरोग लाग्ने गरेको उनले बताए । उनले पछिल्लो समयमा विश्वमा मुटुरोगीका सङ्ख्यामा वृद्धि भएकाले यसबारेमा नेपालीहरू सचेत हुन जरुरी भएको बताए । उनले हाल विश्वमा सरदर २०.५ मिलियन मानिस अकालमा मृत्यु हुने गरेको बताए । उनले मुटुरोगलाई सबैभन्दा ठूलो हत्यारा रोग भनिने गरेको बताए । मुटुरोगीलाई हर्ट अट्याक, स्ट्रोक, पक्षघातसम्बन्धी समस्याहरू ल्याउने गरेको उनले बताए । उनले मुटुमा सानो समस्या देखिए पनि चिकित्सकको सल्लाह लिएर कार्य गर्न सुझाए ।
डा साहले मुटुरोगसम्बन्धी लक्षणहरूमा मुटु दुख्ने, सास फेर्न गा¥हो हुने, थकान लाग्ने, मुटुको धड्कन अनियमित हुने, ज्वरो लाग्ने, हातका जोर्नीहरू दुख्नेलगायत लक्षण देखिने बताए । यसबाट जोगिनका लागि अव्यवस्थित जीवनशैली परिवर्तन गर्नुपर्ने, स्वस्थकर खानपान गर्ने, नियमितरूपले सातामा पाँच दिन शारीरिक व्यायाम गर्ने, प्रत्येक दिन ३० मिनेट मर्निङ वाक गर्ने, ९० मिनेट साइक्लिङ वा पौडी खेल्ने, बसेर काम गर्ने बानी बदलिने, तनावलाई कम गर्नुपर्ने सुझाए ।