यस वर्ष मनसुनको उतराद्र्धमा पुगेर मुलुकले ठूलो क्षति बेहोर्नुपरेको छ । पछिल्लो चार दिनमा बाढी, पहिरो र डुबानमा परेर देशभर सयभन्दा बढीले ज्यान गुमाए, ६४ जना बेपत्ता छन् । विपदमा परी ५० जनाभन्दा बढी घाइते छन् । आइतवार बिहानसम्म बाढी, पहिरो र डुबानमा परेका तीन हजारजनाको सकुशल उद्धार गरिएको छ । मुलुकका विभिन्न १९५ ठाउँमा भौतिक क्षति भएको छ । बाढी, पहिरोबाट मुलुकका सातवटै प्रदेश प्रभावित छन् । मधेस प्रदेशमा पनि रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानमा भौतिक क्षति र एकजना बेपत्ता छन् । सङ्घ सरकारले दैवी प्रकोप उद्धार कार्यका लागि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । बाढी, पहिरो, डुबान, कटान जस्ता दैवी प्रकोप मुलुकको लागि नौलो होइन । हरेक वर्ष यस किसिमको दैवी प्रकोप तथा प्राकृतिक विपत्ति आउने गर्छ । विगतका वर्षमा बाढी, पहिरो, चट्याङलगायत प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको सूची लामो छ । बेपत्ता हुनेको सङ्ख्या पनि उत्तिकै छ ।
पछिल्ला १३ वर्षमा प्राकृतिक विपत्मा परेर १३ हजार ७०८ जनाको मृत्यु भएको छ, १२ सय ९५ जना बेपत्ता छन् । २०७२ सालमा आएको महाभूकम्पमा परी नौ हजार १३१ जनाको ज्यान गएको थियो । त्यसलाई छाड्ने हो भने उक्त १३ वर्षमा प्राकृतिक विपत्तिमा सबैभन्दा बढी बाढी, पहिरो र भारी वर्षाका कारण ज्यान गएको देखिन्छ । १३ वर्षमा बाढी र पहिरोमा मात्रै दुई हजार ६४२ जनाको मृत्यु भयो भने, ९६३ जना बेपत्ता छन् । बाढी, पहिरो, डुबान तथा वर्षाका कारण सरदर वार्षिक २७७ जनाभन्दा बढीको ज्यान गइरहेको देखिन्छ । यसमा चट्याङबाट हुने क्षति छुट्टै छ । यसरी हरेक वर्ष हरेक मौसममा दैवी प्रकोप तथा प्राकृतिक विपत्तिहरू आइरहँदा, यसबाट बच्ने उपाय एवं पूर्वसतर्कता अपनाउन सकिरहेका छैनौं । यस किसिमले जनधनको क्षति हामीले अनन्तकालसम्म सहिरहनुपर्ने हो ? न्यूनीकरणको कुनै बाटो वा उपाय छैन ? प्राकृतिक विपत्तिहरूबाट बचाउन सकिने प्रशस्त बाटाहरू छन् । वर्तमान अवस्थामा मौसम पूर्वानुमानको क्षेत्रमा भएको अत्याधुनिक प्रविधि र सूचना तथा सञ्चारको सुविधाका कारण पनि क्षति न्यूनीकरणलाई सहज बनाएको छ । बाढी र पहिरोबाट जोगिनको लागि पूर्वतयारी र सतर्कता महŒवपूर्ण छ । हामीले सके भने बाध्यात्मक केही अवस्थाहरू जस्तै गोठालो, घाँस, दाउरा, मेलापात गर्दा बाहेक प्रशस्त सतर्कता अपनाउन सकिन्छ ।
क्षति बढ्नुका मुख्य कारणहरूमध्ये जानकारीको कमी पनि हो । धेरैजनालाई प्राकृतिक विपत्तिहरूको पूर्वानुमान र जोखिमबारे पर्याप्त जानकारी छैन । शिक्षा र जागरूकता अभावले मानिसहरू सुरक्षित स्थानमा जान सक्दैनन् । त्यसैगरी, प्राविधिक र सुरक्षाका लगि भौतिक पूर्वाधारको कमी छ । उचित बाँध, नदीको संरक्षण र भौगोलिक अध्ययनको अभावले पनि जोखिम बढाइरहेका छन् । यससँगै प्राकृतिक विपत्तिहरूको व्यवस्थापनका लागि सशक्त नीतिहरू र कार्यान्वयनको कमीले समस्यालाई झन् जटिल बनाइरहेको छ । बसोवास योग्य भूमि भनी तोकिएका स्थानमा मात्रै आवास बनाउने हो भने जोखिम अझ न्यूनीकरण गर्न सकिन्छ । मौसम पूर्वानुमानलाई ख्याल राख्ने र खतरा भनिएको अवधिमा दिइएको चेतावनीलाई पालना गर्ने हो भने धनजनको क्षति निकै कम गर्न सकिन्छ ।