बलिराम शुक्ला, बिरुवागुठी, १२ असोज/
गत बिहीवारदेखि परेको अविरल वर्षाका कारण पर्सा जिल्लाको जनजीवन प्रभावित भएको छ ।

अविरल वर्षाका कारण पर्साको उत्तरी क्षेत्रको जनता सडकमा पानी जमेर आवतजावत ठप्प भएको छ । रङ्गपुर, मनवा, बडनिहार हुँदै जीतपुर चल्ने सवारीसाधनहरू वर्षाको कारण खोलाहरूमा बाढी आएर चलेका छैनन् । जनता सडकका ठाउँ–ठाउँमा बाढीले सडक कटान गरेको छ । रङ्गपुरनजीक रहेको बङ्कुल खोला, तिलावे खोला, सिंगाही खोला, फन्टी खोलामा जल सतह बढेर पानी बाहिर आएकोले आसपासका क्षेत्रहरू जलमग्न भएका छन् । यो क्षेत्रमा सबैभन्दा बढी चल्ने जनता सडक बाढीका कारण अवरुद्ध भएपछि पर्सा जिल्लाको उत्तरी क्षेत्र सुनसान भएको छ । मानिसहरू यसै पनि बिहीवार रातिदेखि परेको बर्खाको कारण शुक्रवारदेखि घरबाहिर निस्कन कम गरेका छन् ।

धानबालीलाई क्षति
पर्सागढी नगरपालिकालगायत पर्सा जिल्लाका ग्रामीण भेगमा किसानले लगाएका धानबाली अविरल वर्षासँगै खोलाहरूमा आएको बाढीले डुबानमा परेको छ । अविरल वर्षाले किसानहरूको खेत डुबानमा परेको र खोलानजीकका खेतहरूको धानबाली अझ बढी प्रभावित भएका छन् । पर्साको उत्तरी थरुहट क्षेत्रमा सा¥हो मन्सुली धान पाकेर भित्रिने क्रममा थियो । वर्षाको कारण धान काट्न नसकेका किसानहरू अहिले धानबाली डुबेको देखेर पीडामा छन् । पर्सागढी नपा–३ का किसान शिवपूजन महतोले १० कट्ठामा लगाएको धान पाकेर काट्ने समयमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेको बताए । महतो जस्तै पर्सागढीमा थुपै्र किसानका धानबाली डुबानमा परेका छन् । वर्षा रोकिए डुबानमुक्त हुने अन्यथा वर्षा नरोकिए पाकेको धानबाली डुबानमा परेर नष्ट हुने बढी सम्भावना भएको किसानहरू बताउँछन् ।

प्रमोद यादव, पंचगावाँ/
पर्सा जिल्लामा रहेका खोलाहरूमा आएको बाढीले जनता सडक, गण्डक सडक र हुलाकी राजमार्गका केही स्थानहरूमा सडक अवरुद्ध भएर आवतजावत नराम्ररी प्रभावित भएको छ । पर्सागढी नपा–९ हरपुर–रमौली थरुहट सडकमा सिंगाही नदी र तिलावे खोलामा आएको बाढीले आवतजावत प्रभावित पारेको छ । यसैगरी, सखुवाप्रसौनी–पटेर्वासुगौली सडकखण्ड पनि भत्किएर आवतजावतमा समस्या भएको छ । बिहीवार रातिदेखि परेको अविरल वर्षाले शुक्रवारदेखि नै यो सडकखण्ड प्रभावित भएको हो । यसैगरी, भलुवाही खोलामा आएको बाढीले जीराभवानी–पटेर्वासुगौली अन्तर्गतको थरुहट सडक पनि अवरुद्ध भएको छ । ओरिया नदीमा पानीको सतह बढेर जीराभवानी–१ महादेवपट्टिको थरुहट सडकको आवतजावत बन्द भएको छ । पर्सा जिल्लामा रहेका ओरिया, सिंगाही, कर्जनिया, गादी, भलुवाही, जमुनिया र भेहाडा खोलाहरूमा पानीको सतह बढेर सडक कटान भएका छन् भने खेतमा पानी पसेर धानबाली डुबानमा छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले जारी गरेको सूचनामा वीरगंज महानगरपालिका क्ष्Fेत्रका ४५ घर डुबानमा परेका छन् । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले पकाहामैनपुरमा ३५ र बहुदरमाई नपामा पाँच घर डुबानमा परेको बताएका छन् । वीरगंज–भिस्वा सडकखण्ड र भिस्वा–सबैठवा सडकखण्ड अवरुद्ध रहेको तर मानवीय र पशुचौपायाहरू क्षति नभएको बताएका छन् ।

प्रस, वीरगंज/
बिीहवार रातिदेखि परेको अविरल वर्षामा शुक्रवार एकाध स्थान मात्र डुबानमा परेको वीरगंज महानगर शनिवार बिहान भने डुबानमा परेको छ । शनिवार बिहान अविरल वर्षासँगै महानगरका आदर्शनगर, छपकैया, रानीघाट, रामटोल, पानीटङ्की, मुर्ली, श्रीपुर, राधेमाई, रामगढवा, खल्वाटोला श्रीसिया क्षेत्रलगायत डुबानमा परेका थिए । अविरल वर्षासँगै श्रीसिया नदीमा पानीको सतह बढेर महानगरका केही क्षेत्र डुबानमा परेका हुन् । आज बिहानैदेखि नगरप्रमुख राजेशमान सिंहले डुबान प्रभावित क्षेत्रमा पुगेर सामाजिक सञ्जालमार्फत महानगरवासीहरूलाई सतर्कता अपनाउन आग्रह गरेका थिए । महानगरका डुबान क्षेत्र दिउँसो पानी रोकिएपछि डुबानमुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here