प्रस, रौतहट, १२ असोज/
तीन दिनदेखि परेको अविरल वर्षाको कारण रौतहटको बाग्मती नदी र लालबकैया नदीमा आएको बाढीले जिल्लाका विभिन्न स्थानहरू डुबानमा परेका छन् ।

दुर्गाभगवती गाउँपालिका–४ र ५ का पचरूखी, बडहर्वा, गढीमाई नगरपालिकाका धर्मपुर, पकहा बखरी, बौधीमाई नगरपालिका–२ इनर्वा, परोहा नगरपालिकाका तेजापाकड, जिगडवा, बेलबिक्षवा, राजपुर नगरपालिका–२ फतुवा महेशपुर, कटहरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयलगायत जिल्लाका धेरैजसो पालिका शनिवार डुबानमा परेका छन् ।

गढीमाई नगरपालिकाको धर्मपुरस्थित बाँध, परोहा नगरपालिका–३ स्थित तेजापाकडको बाँध, फतुवा पुलनजीकको बाँध भत्केर रौतहट जिल्लाका विभिन्न पालिकाहरू डुबानमा परेका हुन् । दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका दर्जनौं घर डुबानमा परेकाले त्यहाँबाट मानिसहरूलाई विस्थापित गराइएको छ ।

लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका–४ हर्साहा र मौलापुर नपा–१ मर्यादपुरमा रहेको बाँध अहिले कटानको क्रममा छ ।

त्यस्तै, जिल्लामा पर्ने चाँदी, धन्सार, तरहारी, गुजरालगायत खोलामा पनि पानीको सतह बढ्दै गएको छ । कुलेखानी ड्याम आज बिहान खोलिएपछि बाग्मती नदीमा बाढी आउने सम्भावना रहेकोले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँठाउँमा माइकिङ गरिएको थियो । बाग्मती नदीमा पानीको सतह बढेपछि ब्यारेजका ३० वटै ढोका खुला गरिएको छ ।

त्यस्तै, बाढी र डुबान कटानको जोखिमबाट जोगाउन जिल्लाका कैयौं स्थानमा ठूलो सङ्ख्यामा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ हीरालाल रेग्मीले बताए । उनले अविरल वर्षा र बाढीका कारण जिल्लाका छवटा पालिका रेडजोनमा रहेको बताए ।

जिल्लाको पूर्वी भेग राजदेवी, बौधीमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका तथा दुर्गाभगवती गापा रेड जोनमा रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here