धर्मेन्द्र चौरसिया, पोखरिया, ११ असोज/
बिहीवार रातिदेखिको अविरल बर्खाबाट पर्सा जिल्लामा गण्डक नहरको दक्षिणी भेग बझियानका किसानहरू निकै खुशी भएका छन् । बर्खाले बझियानमा लगाइएको सोना मन्सुली धानलाई निकै फाइदा पुगेको किसानहरूले बताएका छन् । अहिले सोना मन्सुली धानको बाला लाग्ने बेलामा पानीले निकै फाइदा पुगेको किसानहरूले बताए ।
कृषि ज्ञान केन्द्र, पर्साका बाली अधिकृत मिथलेश साहले यो बर्खाले सोना मन्सुली धानको बाला राम्रो हुने, धानबालीमा लागेका कीराहरूलाई हटाउने बताए । उनले धानसँगै उखुबालीलाई पनि बर्खाले फाइदा पुग्ने बताए । उनले उखुको आकार ठूलो हुने, कीराहरू हट्ने र उखुमा रस बढी लाग्ने बताए । यसका साथै धानबालीपछि गरिने दलहन बाली खेसारी र मसुरीको खेतीका लागि पनि बझियानका किसानहरूलाई फाइदा हुने उनले बताए ।
यो बर्खाले खेतमा हिलो बढेको र असोजपछि धानसँगै लगाइने खेसारीखेती र धान कटानीपछि लगाइने मसुरोखेतीका लागि पनि माटो मलिलो भएर फाइदा पुग्ने बताए ।
नरेश यादव, पर्सागढी/
अहिलेको बर्खाले बझियानका किसानहरूलाई जहाँ फाइदा पुगेको त्यहीं गण्डक नहरदेखि उत्तर थरुहट क्षेत्रका किसानहरूलाई भने घाटा भएको छ । थरुहट क्षेत्रमा थोरै मात्रामा सोना मन्सुली धानको खेती गरिन्छ । थरुहटमा १५० दिनमा सोना मन्सुली धान तयार हुने हुँदा बर्सेनि तीनवटा बाली गर्दै आएका थरुहट क्षेत्रका किसानहरूले अहिले सा-हो सोना धानको खेती गरेका छन । सा-हो सोना धान ११० दिनमा तयार हुन्छ ।
अहिले सा-हो सोना धान खेती गरेका किसानहरूको बालालाई पानीले हानि गर्ने स्थानीय किसानहरू बताउँछन् । बाला लागिसकेको सा-हो सोना धानलाई पानीले नोक्सान पार्ने र बालामा दाना नलाग्ने समस्या आउन सक्ने भएकाले यहाँका किसानहरू चिन्तित भएका हुन् । ११० दिनमा सा-हो सोना धान भिœयाएपछि थरुहट क्षेत्रका किसानहरू मकै र आलु खेती गर्छन् । त्यसलाई भने पानीले फाइदा पुग्ने किसानहरू बताउँछन् ।