यो सावित्री र सत्यवानको कथा होइन । त्यस कथामा सावित्रीले यमराजलाई परास्त गरेकी थिइन् वा महर्षि अरविन्दोको प्रेरणा बनेकी थिइन् । यो त एउटी ग्रामीण युवती सबितरीको कथा हो, जसले न यमराजलाई हराउन सकिन्, न कसैको प्रेरणा बन्न सकिन् । तर वैधव्यको पीडा र असह्य उत्पीडन सहेर सावित्री भने बनिरहिन् ।
सबितरीको बालविवाह आप्mनी दिदीसँगै एउटै परिवारको दाइभाइसँग भएको थियो । एक दिन उनको माइतीबाट आमा बितेको खबर आयो । सबितरी रुँदै–कराउँदै माइत पुगिन् । मधेसमा गौना पछि दोंगा हुने प्रचलन छ । बुहारीको असल घरजम दोंगापछि नै हुन्छ । सबितरीकी आमा बितेपछि एक वर्षसम्म दोंगा नहुने भयो । तर एक दिन उनको ससुरालीबाट एकजना मानिस कुनै खबर लिएर आयो । केही बेरपछि सबितरीका दाइले भने ः सबितरी तिम्रो ससुरालीबाट बोलाहट आएको छ, जानुपर्छ । सबितरीले चकित भएर भनिन् ः दोंगा नभएरै जाने ? दाइले भने त्यस्तै छ, जानैपर्छ । सबितरी आशङ्कित मन दाइको पछि लागिन् । उनको आशङ्का पुग्न नसकेको कुरा ससुरालीमा देख्नुप¥यो ।
उनले कोही बिमारी होला भन्ने सोचेकी थिइन्, तर यहाँ त पतिको लाश थियो । आमा मरेको खबर सुनेर माइती गएकी सबितरी त्यस्तै घटनाले यहाँ आएकी थिइन् । कस्ती अभागिनी ? गाउँका सबै मानिस जम्मा थिए । तिनकै सामुन्ने काटेको रूखसरी सबितरी पतिको देहमाथि लडेर बेहोश भइन् । जसको एक स्पर्शको लागि सासूससुराको पहरा झेलेकी थिइन् आज ती सबै पहरा ध्वस्त भएका थिए । भगवान्को यो लीला हेरेर सबै स्तब्ध थिए । जसको एक झलक गाउँलेले पाएका थिएनन्, उसको संतप्त अनुहार सबैको सामुन्ने थियो ।
सबितरीको सुन्दरताबारे यत्ति भन्नु पर्याप्त हुन्छ कि गाउँभरिमा ऊ जति सुन्दर कोही थिएन । गौनामा एक दिन उसका देवरले सोधेका थिए ः भाभी, यो सौन्दर्य के हो ? सबैको आँखा उही ठाउँमा, नाक–कान–मुख उही ठाउँमा हुन्छ । तर सबैको सौन्दर्य किन भिन्नभिन्न हुन्छ ? यति भिन्न र उचाइ लिएको कि–जब आम्रपाली बुद्धको आश्रममा पहिलोचोटि पुगिन्, स्वयं बुद्धले सबै शिष्यलाई आँखा चिम्लने निर्देश दिनुपरेको थियो । यो सुनेर सबितरी लाजले सङ्कुचित भएकी थिइन् । त्यही सबितरी आज पति वियोगमा रुँदा उसलाई चुप गराउने केवल त्यही देवर थियो । घरका कसैलाई कुनै मतलब थिएन । सबैले उसलाई लोग्ने–टोकुई बुझ्न थालेका थिए । सबितरीसँग नै बिहे भएकै कारण पति मरेको विश्वास थियो । मधेसमा यस्तो धारणा र अन्धविश्वास अद्यतन कायम छ ।
सावित्रीलाई नारदले भनेका थिए–बिहे नगर । सत्यवानको आयु अब वर्ष दिन मात्र छ । तर मलाई त कसैले रोकेन भने म कसरी लोग्ने–टोकुई भएँ ? यदि म लोग्ने–टोकुई हुँ भने आज म प्रतिज्ञा गर्दछु म अर्को बिहे गर्दिनँ । यो त भीष्म प्रतिज्ञा नै थियो, यस कलयुगमा । सबितरीका दाइभाइले अर्को बिहे गर्न चर्को दबाब नदिएका होइनन् । तर सबितरी टसमस भइनन् । यमराजले भावावेशमा सावित्रीलाई ‘पुत्रवती भवः’ भन्ने आशीर्वाद दिएपछि सत्यवानको प्राण फर्काउनुपरेको थियो । तर यहाँ त्यस्तो कुनै आशीर्वाद थिएन । सन्तानहीन सबितरी नियति, वैधव्य र संसारका समस्त उत्पीडन सहेर पनि अटल रहिन् । उनको हैसियत घरमा नोकर्नीभन्दा पनि खराब थियो । सबै काम गर्ने र खस्रो बिटुलो खाएर निदाउने उनको जीवनचर्या बन्यो ।
दिन व्यतीत हुँदै गए । दुनियाँ परिवर्तित हुँदै गयो । सबितरी प्रौढावस्थामा पुगिन् । घरमा अंशबन्डा हुन लाग्यो । सबितरीका पति मरिसकेका थिए । अतः उनको भाग सबितरीकै हुनेवाला थियो । सबितरीको जेठाजूसँग नै उसकी दिदीको बिहे भएको थियो । जेठाजूको नियत फेरियो । अहिलेसम्म नोकरानी बनेकी सबितरीलाई उसले मेरो एउटा छोरा तिम्रो भयो, धर्मपुत्र बनाऊ र सुखपूर्वक बस भने । छोराले सबितरीको खुट्टामा ढोग्यो । सबितरीलाई मरुभूमिमा मरु–उद्यान भेटियो ।
त्यसपछि संसारमा जे हुन्छ त्यही भयो । धूर्त जेठाजूले अनपढ सबितरीको जमीन धर्मपुत्रको नाममा गरायो । शायद नियति, प्रकृति वा भगवान्ले पनि असहाय र कमजोरलाई नै बढी दुःख दिन्छन् । यसैबीच सबितरीलाई टिबी रोगले समात्यो । जेठाजूले उपचारका लागि एक रत्ति खर्च गरेन । उल्टै तिमीलाई पनि टिबी सर्छ भनेर छोरालाई आप्mनै घर ल्यायो । जेठाजूले रेखदेख गर्ने मानिस कोही छैन भने दाइभाइलाई बोलाएर सबितरीलाई माइती पठाइदियो । माइतीको हैसियत त्यति थिएन कि सबितरीको उपचार गर्न सकून् । टिबी नसरोस् भनेर सरेहमा एउटा झाप्रो बनाएर त्यहीं राखिदिए । रोगको उपचार त थियो तर उचित र नियमित उपचार नहुँदा टिबीले झन् च्याप्छ । एक दिन त्यसै झुपडीमा सबितरीको दुर्दान्त अन्त भयो ।
सबितरी तरुनी छँदा मानिस भन्थे उनको जीउमा बस्यो भने झिंगा पनि चिप्लिन्छ । उनै सबितरी आज हाडछाला मात्र भएकी थिइन् । उनको देवरले हे-यो, लाश त हातले नै उचालेर मशानघाट पु-याउन सकिन्छ, खट किन चाहियो ? तर खट बनाइयो । चारजनाले खट बोके, तर देवरलाई काँध पनि लगाउन दिइएन ।
सबितरीको चिता जलिरहेको थियो । त्यही ज्वालामा सबितरीको सारा वैधव्य, उत्पीडन र टिबी रोग पनि जलिरहेको थियो । सत्ययुगकी सावित्रीको कुनै पनि कुरा कलियुगकी यी सबितरीसँग मेल खाँदैन । फेरि सबितरीले बित्थामा चरित्र र सतीत्व किन बोक्नुपरेको थियो ? यो रोजाइ स्वयं सबितरीको थियो । सबितरी सधैं देवरसँग भन्ने गर्थिन्–मलाई पतिले यस कारण छोडेर गए कि म यही उत्पीडन भोगूँ । उनैलाई देखाउन म यो उत्पीडन भोगिरहेकी छु । मरेपछि उनको लोकमा पुगेर सोध्नेछु– अहिले पनि मन भ¥यो कि भरेन ? कस्ती कलयुगकी सबितरी ? ती सावित्री पनि पति मिलनको आकाङ्क्षामा र यी सबितरी पनि उही आकाङ्क्षामा ।