कतिपय मानिसले आप्mनो जीवनमा कुनै परिचय बनाउन सक्दैन । परिचय बनाउन नपाइकन उसको जीवन व्यतीत हुन्छ र कतिपय मानिस यस्ता हुन्छन् जसको एकभन्दा बढी व्यक्तित्व समाजमा स्थापित हुन पुग्दछ । एकभन्दा बढी व्यक्तित्व बनाउन सक्ने व्यक्तिलाई बहु प्रतिभाशाली भनिन्छ । आजभोलि बहुमुखी प्रतिभा कम, बहुआयामिक व्यक्तित्व बढी भन्न थालिएको छ । जीवनमा एकभन्दा बढी आयाम हुनु बहुआयामिक व्यक्तित्व हो । आप्mनो नैसर्गिक जीवन व्यतीत गर्दै अर्थात् रोजीरोटी गर्दै, घरपरिवार धान्दै एकभन्दा बढी व्यक्तित्व हुन् कौशल पाण्डे ।
कौशल पाण्डेको जन्म वि.स. २००४ पुस १५ गते पिता रुद्रबहादुर पाण्डे र माता मधुमाया पाण्डेको सन्तानको रूपमा उदयपुर जिल्लाको सिरुवानी तामाडाँडामा भएको हो । पाण्डेको परिवार वि.स. २०१२ मा उदयपुरबाट धनुषाको ढल्केबर बसाइँ सरेर महोत्तरीको किसाननगर, अनि १२ वर्षपछि रौतहट, हिमालीवास सरेको थियो । रौतहट पुग्दा पाण्डे २० वर्षका थिए । हिमालीवासबाट २०४५ मा हेटौंडा–११ नवलपुर र केही वर्षपछि हेटौंडा–४ बुद्धपथमा आई पाण्डे परिवार बस्न पुग्यो । बुद्धपथस्थित निवासमैं उनको ७५ वर्षको उमेरमा २०७९ कात्तिक १० मा निधन भयो । पाण्डेका एक छोरा प्रशान्तकुमार पाण्डे, एक छोरी नमूना पाण्डे र पत्नी शकुन्तला पाण्डे छन् ।
पाण्डेको जीवन पूर्णतः सङ्घर्षमा बितेको देखिन्छ । हुन पनि जसले कुनै सङ्घर्ष गर्दैन, उसको जीवनमा ठूलो सफलता आउँदैन । सङ्घर्ष नगर्नेले जीवनलाई बुझेकै हुँदैन । कौशल पाण्डेले आप्mनो जीवनमा अनेक किसिमका सङ्घर्ष गरे । उनका सङ्घर्षहरू समाजका लागि, विपन्न समुदायका लागि र देशका लागि थिए । उनले असल, सभ्य र सुन्दर समाज निर्माणको लागि आजीवन सत्कर्म गरे ।
हालै ‘स्मृतिका पानाहरू’ कौशल पाण्डे स्मृति ग्रन्थ–२०८१ प्रकाशित भएको छ । यसमा विभिन्न लेखक तथा समकालीनहरूले पाण्डेको जीवनीको मूल्याङ्कन गरेका छन् । पाण्डेले आधा दर्जनभन्दा बढी शैक्षिक संस्थामा पढाए । अध्यापन उनको रोजीरोटी मात्र नभएर, चेतना विस्तारको माध्यम पनि रहेको देखिन्छ । नेपालमा शिक्षकहरूको पहिलो संस्था नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना र विस्तारमा पाण्डेको अहम् भूमिका छ । प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म अध्यापन गराएका पाण्डेले शैक्षणिक जीवनका करीब सबै अनुभूति प्राप्त गरे । पाण्डेले माध्यमिक तहमा पहिलोपटक पत्रकारिता विषयको पनि अध्यापन गरे । स्नातक तहमा पनि पत्रकारिता अध्यापन गरेका पाण्डेलाई एक अर्थमा नेपालमा पहिलो पत्रकारिता अध्यापक भन्न सकिन्छ ।
पत्रकारिता नपढे पनि लगातार पत्रकारिता गरेकाले पाण्डेले पत्रकारिता पढाएका हुन् । सैद्धान्तिक ज्ञानसँगै अनुभवका खानी, पाण्डेले हेटौंडाबाट ‘प्रयास साप्ताहिक’ प्रकाशन गरे । ‘प्रयास’ पहिले साहित्यिक त्रैमासिक थियो । प्रयास पछिल्लो चरणमा अर्धसाप्ताहिक बनेको थियो । हेटौंडा बसाइँको समयमा प्रयासमा करीब एक दशक यस पङ्क्तिकारले पनि कलम चलाउने मौका पाएको थियो । पत्रकारितामा पाण्डेले जनपक्षीय विचारको प्रस्तुतिलाई आप्mनो धर्म बनाएका थिए । मुख्यगरी श्यामप्रसाद शर्माका रचनाहरूलाई निरन्तर प्रकाशित भइरह्यो ।
अहिले मकवानपुरलाई साहित्यको राजधानी भन्न थालिएको छ । मकवानपुरमा साहित्यको विस्तारमा ‘साहित्य सङ्गम मकवानपुर’को ठूलो हात छ । साहित्य सङ्गम मकवानपुरको स्थापनामा नै कौशल पाण्डेको भूमिका रहेको थियो । पाण्डेले प्रगतिशील लेखक सङ्घ, जनवादी साहित्य समाजजस्ता विभिन्न साहित्यिक संस्था गठन र सञ्चालनमा विशिष्ट भूमिका खेले । प्रसिद्ध प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको देहावसानपछि उनको नाममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुर, गठन गरी संस्थापक अध्यक्ष भएर काम गरे । पाण्डे आफैं पनि साहित्यकार थिए । उनका दर्जनौं रचना यत्रतत्र छरिएर रहेका छन् । यसरी प्रतिभा उत्पादन, प्रतिभा विस्तारण, साहित्य सिर्जना, साहित्य प्रकाशन, संस्थाको निर्माण र सञ्चालन आदि क्षेत्रमा पाण्डेले निकै ठूलो योगदान दिएका छन् ।
शिक्षण, पत्रकारिता र साहित्यका त्रिवेणी कौशल पाण्डे राजनीतिमा पनि उच्चस्तरको दख्खल राख्ने व्यक्तित्व थिए । मूलतः श्यामप्रसाद शर्मालाई आप्mनो आदर्श मान्ने र वामपन्थी विचारलाई जीवनमा दर्शनका रूपमा लिने पाण्डेको राजनैतिक जीवन श्यामप्रसाद शर्माकै सेरोफेरोमा बढी केन्द्रित देखिन्छ । शर्माको राजनीतिक दलको केन्द्रीय सदस्यको रूपमा गाउँगाउँमा राजनीतिक जागरण ल्याएका पाण्डे पछिल्लो चरणमा माओवादी विचार नजीक पुगेका थिए । हिंसाको ठाडो समर्थन नगर्ने तर वैचारिक समर्थन गर्ने पाण्डेको राजनैतिक दर्शन प्रजातान्त्रिक समाजवाद किसिमको देखिन्छ ।
श्यामप्रसाद स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले प्रकाशित गरेको प्रस्तुत कृति ‘स्मृतिका पानाहरू’मा अञ्जलि थापा, अरुण खतिवडा, आरआर चौलागाईं, ऋषिराम पोखरेल बकिमहे, कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद दाहाल, गोकर्ण खनाल, जनार्दन खनाल, देवराज खरेल, नवराज शर्मा, नानीमाया विष्ट, नानीमैयाँ अधिकारी, निमेष निखिल, पुरनबहादुर जोशी, विमलकेशरी पौड्याल, विमल निभा, मणिराज गौतम, मीनेन्द्र भण्डारी, डा. मुकेशकुमार चालिसे, मुक्तिबन्धु, मोदनाथ पोखरेल, मोहनदुलाल, रामबाबू थापा, रामकृष्ण भण्डारी, राधा तिमल्सिना, वनमाली सुवेदी, शङ्करराज बानियाँ सागर, शिवकुमार श्रेष्ठ, शेषमणि आचार्य, श्रीराम पाण्डे, सञ्जय साह ‘मित्र’, डा. सम्राट तुम्बाहाङ्फे, साम्ब ढकाल, सुरेश श्रेष्ठ, सुबास खनाल, सुशील मुडभरी, सूर्यचन्द्र न्यौपानेजस्ता अग्रज, समकालीन र अनुज तथा शिष्यले विभिन्न कोणबाट आप्mनो सम्बन्ध जनाउँदै पाण्डेको बहुआयामिक व्यक्तित्व खोतलेका छन् । यी आलेखहरूबाट पाण्डेको ओजपूर्ण जीवन र जीवनका विभिन्न पाटाको सङ्क्षिप्त जानकारी प्राप्त हुन्छ । यसैगरी कृतिको अन्त्यमा पाण्डेका केही रचना छन्, जसले यस कृतिको ओज बढाएको छ । ‘एकाध प्रसङ्ग’, ‘सम्झँदै जाँदा’, ‘दृष्टिकोणकै कुरा’, ‘यथार्थ र अनुभूति’, ‘बूढो बाज सम्मानित भएछ’ तथा ‘सहयात्री’ शीर्षकका कविता, लेख र निबन्धहरूमा पाण्डेको लेखनशैली र स्पष्ट वैचारिक धरातल देख्न सकिन्छ । साहित्य सरल भाषामा लेखिनुपर्छ भन्ने विचारका पक्षधर पाण्डेका रचनाहरूले यसै विचारको प्रतिनिधित्व गरेका छन् । ‘स्मृतिका पानाहरू’ स्मृति लेख, जीवनी, समीक्षा र कविता समेटिएको स्मृति ग्रन्थ हो । यसको सम्पादन गरेका छन् भरत दुलालले । प्रकाशनको चाँजोपाँजो इन्द्र नेपालले मिलाएका छन् ।
‘स्मृतिका पानाहरू’ पाण्डेप्रति चढाइएको श्रद्धा–सुमन हो । पाण्डेको जीवन दर्शन बुझ्ने ऐना हो र सङ्घर्षको दस्तावेज पनि हो । वैचारिक अडानको दृढ सङ्कल्प पनि हो । जनताको लागि बाँच्ने र देशको उज्यालो भविष्यको सपना देख्ने सच्चा सपूतको सन्देश हो । साहित्यकार, पत्रकार, शिक्षक तथा राजनीतिकर्मीका लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ । एकजना मानिसले आप्mनो जीवनमा के कति गर्न सक्छ, त्यसको दृष्टान्त हो । प्रकाशन उपसमितिमा रहेका ऋषिराम उपाध्याय पोखरेल, रामबाबू थापा, नानीमैयाँ बिष्ट, अनिता न्यौपाने र शङ्करराज बानियाँले एउटा युग समेट्ने स्तुत्य कार्य गरेका छन्–‘स्मृतिका पानाहरू’ प्रकाशित गरेर । यस ग्रन्थले पाण्डेका साथै प्रकाशन परिवारलाई पनि अमर बनाएको छ ।