कुनै पनि मुलुकले विदेशी ऋण भुक्तानी गर्न तथा अन्तर्राष्ट्रिय व्यापारको लागि विदेशी मुद्रा प्रयोग गर्छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार यतिबेला मुलुकमा २१ खर्ब (२.१ ट्रिलियन) रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ । यो भनेको नेपालको केन्द्रीय बैंकमा विदेशी मुद्राको कुल भण्डार हो । जुन नेपालको आर्थिक सुरक्षा र अन्तर्राष्ट्रिय व्यापारको लागि महŒवपूर्ण छ । यसबाट मुलुकले आयातको लागि कति समयसम्म भुक्तानी गर्न सक्छ भन्ने अनुमान गर्न सजिलो हुन्छ । विदेशी मुद्राको सञ्चिति राम्रो भएमा त्यसले देशको अर्थतन्त्रलाई स्थायित्व दिन्छ । जसले आयात गर्न, अन्तर्राष्ट्रिय बजारमा भरोसा कायम राख्न र विदेशी ऋण भुक्तानी गर्न सजिलो हुन्छ । हाम्रो मुलुकले वैदेशिक कारोबारमा मासिक सरदर एक खर्बदेखि डेढ खर्ब रुपैयाँसम्म खर्च छ । सन् २०२३ मा नेपालले मासिक औसत एक खर्बदेखि डेढ खर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको तथ्याङ्क छ । हाल हामीसँग रहेको विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रु १८ खर्ब ८३ अर्ब ४२ करोड र बैंक तथा वित्तीय संस्थामा रु दुई खर्ब आठ अर्ब ७९ करोड छ । चालू आवको पहिलो महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले १६ दशमलव सात महीनाको वस्तु आयात गर्न र १३ दशमलव पाँच महीनाको वस्तु तथा सेवा आयात धान्न प्रशस्त पुग्छ ।
नेपालमा विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै राम्रो मान्नुपर्छ । यसभन्दा पहिले सन् २०२१ को मध्यतिर विदेशी मुद्रा सञ्चिति करीब १८ खर्बसम्म पुगेको थियो । त्यति बेला कोभिड–१९ को प्रभावले लकडाउनले विश्व नै ठप्प भएपछि आयातमा कमी आएको कारण खर्च हुन नसकेर विदेशी मुद्रा सञ्चिति भएको थियो । सन् २०२१ पछि आयातमा पुनः वृद्धि हुँदा र व्यापार घाटा बढ्न थालेपछि विदेशी मुद्रा सञ्चिति घटेको थियो ।
वर्तमानमा मुद्रा सञ्चितिको अवस्था विगतको भन्दा नितान्त फरक छ । यो २१ खर्ब रुपैयाँसम्म सञ्चिति पुग्नु भनेको मुलुकको आयात–निर्यात व्यवस्थापन र विप्रेषण प्रवाहमा सुधार हुन थालेको सङ्केत हो । विदेशी मुद्राको सञ्चितिले मुलुकको अर्थतन्त्रलाई विभिन्न फाइदाका साथै स्थिरता र लचिलोपन प्रदान गर्छ । जस्तै विदेशी सामान तथा वस्तु मुलुकले आफ्नो आवश्यकता अनुसार आयात गर्न सक्छ, हाम्रो मुलुक जस्तो आयात–निर्भर देशका लागि यो महŒवपूर्ण छ । अर्को फाइदा विदेशी मुद्राको सञ्चिति बढ्दा हाम्रो नेपाली मुद्रा अवमूल्यन हुन पाउँदैन, बलियो हुन्छ । हाम्रो मुद्रा बलियो रह्यो भने आयातीत वस्तु महँगो वा मुद्रास्फीति हुन पाउँदैन । विदेशीले हामीसँग व्यापार गर्दा पनि विदेशी मुद्रा सञ्चिति हेरेर कारोबार गर्छ । पर्याप्त सञ्चिति रहँदा मुलुकप्रति अन्तर्राष्ट्रिय विश्वसनीयता र आर्थिक स्थायित्व बढ्छ । यसले मुलुकका लागि बाहिरबाट आउने ऋण तथा अनुदान सहयोग, आपत्कालीन सहयोगलगायत भुक्तानीमा सहज हुन्छ । विदेशी मुद्रा सञ्चितिको जस, जति कन्जुस्याइँ गरे पनि वर्तमान सरकारलाई दिनै पर्छ । विप्रेषण प्रवाहमा प्रोत्साहन, आयात नियन्त्रण, विदेशी लगानी आकर्षण, विनिमय दर स्थिरता र अन्तर्राष्ट्रिय सहयोगमार्फत विदेशी मुद्रा सञ्चिति बढाउनुमा सरकारको आर्थिक नीति तथा निर्णयहरूको भूमिका महŒवपूर्ण हुन्छ ।