प्रस, निजगढ, १० असोज/
निजगढ नगरपालिका–९ स्थित बकैयाखोला किनारमा रहेको आर्यघाट केही वर्षदेखि उच्च जोखिममा छ । स्थानीय तह निजगढ नगरपालिकाले बर्सेनि नदीजन्य पदार्थ दहत्तर बहत्तरको ठेक्का बन्दोबस्ती गरे पनि अनुगमन नगर्दा अहिले खोलाको पक्की ड्याम, तारजालीमा क्षति पुगेर आर्यघाटसमेत उच्च जोखिममा परेको छ ।

आर्यघाट संरक्षणको लागि विगतका वर्षहरूमा लगाइएका तारजालीको तटबन्ध वर्षायाममा बाढीले भत्काउँदै बगाउन थालेको छ । केही दिन अघिसम्म सोझो र ठीक अवस्थामा रहेको तारजालीको तटबन्ध खोलामा झरेको छ भने, कतिपय अझै झर्ने र खोलाले बगाउने अवस्थामा छन् । खोला ठेक्का सकार गर्ने ठेकेदार कम्पनीले ठेक्काको नाउँमा मनपर्दो खोलाको उत्खनन, दोहन गरेपछि त्यसको असर देखिन थालिएको हो । स्थानीयहरूले दाहसंस्कार गर्ने सार्वजनिकस्थल नै खोलाले कटान गर्दै बगाउन थाले पनि अहिलेसम्म निजगढ नगरपालिका मूकदर्शक बनेको छ ।

आर्यघाटको संरक्षण र विकासका लागि पटकपटक निजगढ नगरपालिकामा बजेट माग गरे पनि बेवास्ता गर्दै आएको बकैया आर्यघाट उपभोक्ता समिति निजगढका सदस्यहरूको भनाइ छ । प्रत्येक वर्ष करोडौं मूल्यमा त्यही खोला नगरपालिकाले ठेक्का लगाउने तर संरक्षणमा पटक्कै चासो नदिने शैलीकै कारण अहिले आर्यघाटसहितको संरचना उच्च जोखिममा परेको स्थानीयहरू बताउँछन् ।

नगरप्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङलाई भन्यौं तर संरक्षणमा अहिलेसम्म ध्यान नदिएको बकैया आर्यघाट उपभोक्ता समिति निजगढका उपाध्यक्ष सावित्री भारतीले आरोप लगाइन् ।

अहिले आर्यघाट उच्च जोखिममा पर्नुको कारण खोला उत्खनन नै भएको उनको ठहर छ । “खोला उत्खनन गर्नतिर मात्रै ध्यान गयो, संरक्षणमा कसैले ध्यान दिएनन्,” बकैया आर्यघाट उपभोक्ता समिति निजगढका सचिव साधुराम खरेलले दुःखेसो पोख्दै भने । आर्यघाट निजगढकै समाजसेवी, बुद्धिजीवी बूढापाकाहरूले निर्माण शुुरू गरे पनि अहिलेको पुस्ताले यसको संरक्षण गर्न चासो नराखेको जनगुुनासो छ ।

नगरपालिकाले खोला ठेक्का लगाउने र पैसा कमाउने अनि ठेकेदारले मनलाग्दी खोला खन्ने, जनप्रतिनिधिहरू चुपचाप हेरेर बस्ने, वर्षौंदेखि नजीकै रहेका अवैध क्रसर उद्योगहरू निर्बाध चलाउने तर खोला संरक्षणका लागि एक थान जाली नहाल्ने गरेकाले आर्यघाट जोखिममा परेको स्थानीयहरू भन्छन् ।

क्रसरवालाहरू त्यही ढुङ्गा पेलेर मालामाल हुने तर नजीकैको आर्यघाट संरक्षण र विकासमा वास्ता नगर्ने स्थानीयहरू बताउँछन् ।

जनप्रतिनिधिहरूले पनि आर्यघाट जस्तो सार्वजनिकस्थलको संरक्षण गर्न नसकेको उनीहरूको गुनासो छ ।

वडाध्यक्ष रामचन्द्र कटुवालले आर्यघाट संरक्षणको लागि तारजाली लगाउने योजना रहेको आफूले जानकारी पाएको तर अहिलेसम्म पनि काम अघि नबढ्नु दुःखद भएको बताए । उनले निजगढ नगरपालिकालाई यथाशीघ्र चाँडै काम अघि बढाउन पहल गर्ने बताए ।

दुईवटा दाहसंस्कार गर्ने स्थान, छ कोठे भुइँतले पक्की भवन, एउटा सिमेन्टेड पानी टङ्की, दुईवटा फलामे ट्रससहित ६५ लाख रुपैयाँभन्दा बढी मूल्यको संरचना गत वर्षदेखि जोखिममा रहेको सचिव खरेलले बताए ।

खोलामा पानी नहुुँदा अति आवश्यक पर्ने पानी टङ्कीसमेत जीर्ण अवस्थामा छ । टङ्कीबाट पानी चुहिन्छ । आर्यघाटमा दैनिक तीनवटासम्म शवको दाहसंस्कार हुने गरेको आर्यघाट रेखदेख गर्दै आइरहेका स्थानीय शङ्कर श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here