प्रमोद यादव, पंचगावाँ, १० असोज/
सखुवाप्रसौनी गाउँपालिका–२ पंचगावाँचोकमा जितिया पवको अवसरमा तीन दिने महावीरी झन्डा मेला लागेको छ । महावीरी झन्डा मेला समिति सखुवाप्रसौनी गापा–२ को आयोजनामा आजदेखि तीन दिनसम्म मेला लाग्ने र मेलामा दङ्गल कुश्ती हुनेछ । गापाध्यक्ष यशवन्त यादवले मेलाको उद्घाटन गर्दै कुश्ती मधेसको मौलिक खेल भएको बताए ।
उनले पछिल्लो समयमा कुश्तीप्रतिको आकर्षण घटिरहेकामा चिन्ता व्यक्त गरे । उनले मधेसको मौलिकतासँग जोडिएको कुश्ती खेलको संरक्षणमा सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । पालिकास्तरबाट हुने सहयोग आफूले गर्न तयार रहेको उनले बताए । मेला समितिका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको दङ्गल कुश्ती प्रतियोगितामा नेपाल र भारतका नाम चलेका १० जना पहलमानले भाग लिएका छन् । उनीहरूलाई नगद ३० हजारबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष चिरञ्जीवी महतो, पूर्वउपाध्यक्ष फुलमती देवी, प्रमुख प्रशासकीय अधिकृत विजय चौरसिया, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा, स्थानीय नेता शिवकुमारसाह तेली, मुन्ना तिवारीलगायतको सहभागिता थियो ।