नेपाल प्रशस्त सम्भावना बोकेको मुलुक हो । तर पनि उल्लेखनीय प्रगति तथा उपलब्धि हासिल गर्न सकिरहेको छैन । यसको मुख्य कारण राजनीतिक दलहरूको अदूरदर्शिता र दोहोरो चरित्र हो । मुलुक उँभो लाग्न राज्यको नीति सही हुनुपर्छ । राज्यको नीति सही हुन राजनीतिक दल सही हुनुपर्छ । लोकतान्त्रिक राज्य व्यवस्थामा मुलुक हाँक्ने काम राजनीतिक दलहरूले गर्छन् । हाम्रो मुलुकका सत्ता सञ्चालक दलहरू नै दोहोरो चरित्रका छन् । जसले मुलुक अस्थिरता र असन्तोष उत्पन्न गरिरहेका छन् । वर्तमान राजनीतिक परिप्रेक्ष्यमा दलहरूले जनभावना र राष्ट्रहितको सट्टा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएका छन् । नेपालको राजनीतिक दृश्यमा धेरै उदाहरण पाइन्छन्, जसले यो दोहोरो चरित्रलाई स्पष्ट बनाउँछ । हामीले देखिसुनिराखेका छौं, राजनीतिक दलहरूको बोलीमा लगाम छैन । आज एक कुरा भोलि अर्कै कुरा । एउटा मुद्दामा एउटै राजनीतिक दलले दिनैपिच्छे फरक अभिव्यक्ति दिने गरेको छ । स्वार्थ मिल्दा एउटा कुरा स्वार्थ बाझिंदा अर्कै कुरा । दलहरूको गठजोडमा एउटा कुरा, जनतासँग अर्कै कुरा ।
मधेस केन्द्रित उदाउँदो दल मानिएको जनमत पार्टीका अध्यक्ष डा सिके राउतले वर्तमान केपी ओली नेतृत्वको सरकारको कारण देश विनाशतर्फ गइरहेको बताएका छन् । स्थानीय पार्टी कार्यकर्ताबीच अध्यक्ष डा राउतले दुई फरक विचारका पार्टीहरू मिलेर सरकार बनेको हुँदा त्यसले विनाश निम्त्याउने तर्क गरे । संसद्मा वर्तमान सरकारलाई विश्वासको मत दिएर आएको जनमतले स्थानीयस्तरमा आएर त्यही सरकारको विरोध गर्छ । विश्वासको मत दिने बेला एमाले र काङ्ग्रेस फरक विचारका हुन् भन्ने थाहा थिएन र ? जनमत पार्टीले नै मधेस प्रदेश सरकार निर्माण गर्दा आफूसँग विचार नमिल्ने दलहरूको समर्थन लिएको छ । सत्य बोल्ने हो भने पहिले आफू स्पष्ट हुनुप¥यो नि, नत्र सर्वसाधारणलाई किन भ्रममा पार्ने ? बितेको संविधान दिवसमा पनि त्यीतै रमिता देखाइयो, प्रदेश सदरमुकाममा जुन पार्टीका नेता संविधान दिवस आयोजना गर्दै थिए, सोही पार्टीका जिल्लास्तरीय नेता, कार्यकर्ता कालो झन्डा बोकेर विरोध प्रदर्शन गरिरहेका थिए । यस्तो द्वैध चरित्र किन ?
ठूला दलहरूको ठूलै कुरा छ । हिजो रास्वपासँग स्वार्थ मिल्दा एमालेको नजरमा रवि लामिछाने निर्दोष थिए । आज स्वार्थ बाझिंदा उही एमालेको नजरमा लामिछाने दोषी छन् । “होइन हिजो छानबीन गरेको थिएन, आज छानबी गरी हेर्दा रवि दोषी देखिएका हुन्” भन्ने हो भने यहाँ फेरि नैतिक प्रश्न उठ्छ, हिजो छानबीन नै नगरी निर्दोष छ भन्दै ग्वाम्ल्याङ अँगालो हालेर ढाक्नुपर्ने जरुरी किन ? जसले रवि निर्दोष छ भन्यो आज यदि दोषी हो भने, हिजो जसरी बोलियो ती बोल्नेले त्यसैगरी आज माफी माग्नु वा गलती महसूस गर्नुपर्छ कि पर्दैन ? उदाहरण मात्रै हो । अधिकाश राजनीतिक दल र तिनका नेताहरूको चरित्र एकै छ । राजनीतिक दलहरूका स्थानीय र राष्ट्रियस्तरमा वचन र व्यवहार फरक छन् । दोहोरो मापदण्ड, दुईटा डुङ्गामा खुट्टा अर्थात् दोहोरो चरित्र, कुरा एउटै हो । यसले मुलुक, मुलुकवासी र स्वयम् राजनीतिक दलहरूलाई पनि फाइदा गर्दैन । राजनीतिक दलहरूले समाजको अगुवाइ गर्न सक्नुपर्छ । जनविश्वास जित्न सके मात्रै जनाधार बलियो बन्छ । जनलाई नै द्विविधामा पार्ने चरित्र जुन दिन उदाङ्गिन्छ, तब जनमत स्वतः किनारा लाग्नेछ ।