प्रस, वीरगंज, ९ असोज/
नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले आगामी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने बताएका छन् ।
वीरगंज महानगर–२४ रामगढवास्थित नेका पर्साको आत्माराम ओझ–दुखा सहनी स्मृति भवनको बुधवार उद्घाटन गर्दै उनले ओझा र सहनी नेपाली काङ्ग्रेसका सपूत भएको बताए ।
उनले पर्सा जिल्ला नेपाली राजनीतिकमा ऐतिहासिक जिल्ला भएको र २००७ सालको क्रान्तिको पहिलो बिगुल यही जिल्लाबाट फुकिएको बताए । उनले पर्सा जिल्लाको विकासका लागि थुप्रै योजना सञ्चालनमा रहेको बताए । सभापति देउवाले पर्सा जिल्लाको सडक सञ्जाल विस्तार भएको बताए ।
उनले नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न सुझाए । एकताबद्धरूपमा सबै कार्यकर्ता अगाडि बढेको खण्डमा आगामी सरकार नेकाको नेतृत्वमा बन्ने उनले ठोकुवा गरे ।
केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले जिल्लाका वडादेखि पालिकासम्मको सङ्गठन सुदृढ र मजबूत पार्नुपर्ने बताए । सङ्गठन मजबूत भएको खण्डमा मात्र आगामी चुनाव जित्न सकिने उनले बताए ।
मधेस प्रदेश संयोजक कृष्ण यादवले वडा, पालिक र जिल्ला अनि प्रदेशको विवाद न्यूनीकरण गरेर अगाडि बढेको खण्डमा पार्टीको हित हुने बताए । उनले आपसी विवाद अन्त्य गरी निर्वाचनमा होमिंदा अन्तर्घात र हारको सम्भावना कम हुने बताए ।
पार्टीका उम्मेवारविरुद्ध पार्टीका नेता, कार्यकर्ताहरूले अन्तर्घात गर्ने कार्यले नै काङ्ग्रेसका उम्मेदवारहरू हार्ने गरेका र आज सोही विषयमा आठ जिल्लाका अध्यक्षहरूको पार्टी सभापतिसँग छलफल भएको बताए ।
नेका पर्साका सभापति एवं मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं सङ्घीय कानूनमन्त्री अजयकुमार चौरसिया, सहमहामन्त्रीद्वय फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, केन्द्रीय सदस्य आनन्द ढुुङ्गाना, नगिना यादव, अनिल रूँगटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला उपसभापति रामनारायण कुर्मीले स्वागत र सचिव एवं वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमले सहजीकरण गरेका थिए ।