‘आत्मनिर्भर’ भनेको आफैंमा निर्भर रहने, बाह्य सहयोगविना आफ्ना आवश्यकताहरू पूरा गर्ने क्षमता हो । त्यो क्षमता आफ्नै स्रोत र क्षमता प्रयोगमा ल्याउनु ‘आत्मनिर्भरता’ हासिल गर्नु हो । मुलुकका पूर्वप्रधानमन्त्री तथा वर्तमान अवस्थामा मुलुकको सबैभन्दा ठूलो पार्टी सत्तासाझेदार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘शिक्षा र स्वास्थ्यमा नेपाल आत्मनिर्भर बन्दैछ’ भनेका छन् । यसो हुनु मुलुकको लागि धेरै महŒवपूर्ण उपलब्धि हो । मानवजीवनको अति आवश्यक पक्ष शिक्षा र स्वास्थ्य हुन् भने समुन्नत राष्ट्रनिर्माणका विभिन्न पक्षहरूमध्ये शिक्षा र स्वास्थ्य अति आवश्यक पक्ष हुन् । तर यी दुई पक्षमा आत्मनिर्भरता त्यति सहज छैन । कुनै पनि मुलुक शिक्षामा आत्मनिर्भर भएको तब मान्न सकिन्छ, जब त्यहाँको साक्षरता दर ९५ प्रतिशतभन्दा माथि हुन्छ । प्राथमिक र माध्यमिक विद्यालयमा बालबालिकाको पहुँचको स्तर ९० प्रतिशतभन्दा बढी चाहिन्छ । त्यसैगरी, सीपमा प्रयोग हुन सक्ने अर्थात् स्वरोजगार सृजना गर्न सक्ने र अन्तर्राष्ट्रिय मापदण्ड पनि पूरा भएको प्रतिस्पर्धात्मक शिक्षा हुनुपर्छ । मुलुकका सबै क्षेत्र, समुदाय, वर्गका विद्यार्थीहरूको लागि राज्यले शिक्षामा सुनिश्चितता दिएको अवस्थालाई शिक्षामा आत्मनिर्भरताको पहिचान सङ्केत मान्न सकिन्छ ।
सङ्केत पूरा हुनका लागि सबैभन्दा पहिले ‘अनिवार्य शिक्षा, सबैको लागि शिक्षा र सोको निमित्त व्यावसायिक तथा व्यावहारिक साथै समावेशी शिक्षा नीति’ हुनुपर्छ । जसले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्छ । नीति निर्माणमा समस्या छ भने त्यसलाई फुकाएर अगाडि बढ्न सक्नुपर्छ । मुलुकका सबै शैक्षिक संस्थानमा उपयुक्त भौतिक संरचना, पुस्तकालय र डिजिटल स्रोतहरूको उपलब्धता, योग्य र प्रशिक्षित शिक्षकहरू अनि प्रभावकारी शिक्षण विधि अनिवार्य छ । त्यसैगरी, शिक्षामा अभिभावक र स्थानीय समुदायको प्रत्यक्ष सहभागिता र समर्थन हुनुपर्छ । सरकारी र निजी क्षेत्रबाट शिक्षामा लगानी र सहकार्य हुनुपर्छ, जहाँ आधुनिक प्रविधिको समावेशी प्रयोग भएको हुनुपर्छ, तब मात्रै त्यसले परिणाम उच्च दिने हो । आत्मनिर्भर भयो, भएन भन्ने कुराको कसी परिणाम हो ।
शिक्षामा जस्तै स्वास्थ्यमा मुलुक आत्मनिर्भर बन्नका लागि धेरै मापदण्ड पूरा भएको हुनुपर्छ । पालिकास्तरमा आधारभूत अस्पतालहरू बन्नु स्वास्थ्यमा आत्मनिर्भर बन्न आवश्यक पक्षमध्ये एक हो । तर पालिकास्तरमा अस्पताल भवन बन्दैमा मात्रै मुलुक स्वास्थ्यमा आत्मनिर्भर बन्न सक्दैन । शिशुदेखि ज्येष्ठ नागरिकसम्मका हरेक व्यक्तिलाई स्वास्थ्यमा सहज पहुँच हुनुप¥यो । अर्थात् मुलुकका सबै भूगोल, क्षेत्र, भाषा, धर्म, वर्ग, समुदाय र सम्प्रदायका कुनै पनि व्यक्ति उपचारको अभावमा मृत्युवरण गर्न नपरोस्, स्वदेशमा हुने उपचार पद्धति र तरीकाहरू अन्तर्राष्ट्रियस्तरको रहोस्, तब मात्रै स्वास्थ्यमा आत्मनिर्भर हुनै लाग्यो भन्न सकिन्छ । मुलुकका धेरै क्षेत्र शिक्षा र स्वास्थ्यबाट वञ्चित छन् । सरकारले निश्शुल्क भनेको औषधि सरकारी स्वास्थ्य संस्थाहरूमा अझै पाइँदैन । त्यसैगरी शिक्षामा धनी र गरीबबीच ठूलो खाडल छ । समान शिक्षा र सबैको लागि शिक्षा हुनुपर्नेमा पक्षपातपूर्ण व्यापारिक शिक्षा छ । यसर्थ शिक्षा र स्वास्थ्यमा नेपाल आत्मनिर्भर बन्दैछ भन्नुभन्दा पनि आत्मनिर्भरतातर्फ लाग्न काम गर्छौं भन्नु उपयुक्त हुन्छ ।