मधेस प्रदेशमा गर्मी उपद्रो किसिमले हुन्छ । बर्सेनि गर्मीले उपद्रो मचाउने गर्छ, यो प्रदेशमा । यसपटक गर्मीले यो प्रदेशमा पछिल्ला सबै रेकर्ड ब्रेक गर्दै अचाक्ली बढेको महसूस गरिएको छ । देशका अन्य भागमा भन्दा मधेस प्रदेशका आठ जिल्लासहित तराईका २२ जिल्लाको लागि भने बढी गर्मी नौलो होइन । प्रत्येक वर्ष आठदेखि नौ महीना गर्मी हुन्छ । केही वर्षदेखि देशका पहाडी जिल्लामा पनि गर्मी बढ्दो छ । गर्मीले अहिलेसम्म नसताएको हिमाली क्षेत्र मात्र हो । समयमा वर्षा नभएपछि गर्मी बढी महसूस हुन्छ र अहिले त्यस्तै भएको छ । यसपटक यो प्रदेशमा वर्षा नियमित भएको छ तर आशाप्रदरूपमा नभएको कारण गर्मी बढी महसूस भएको हो । यसपटक लगातार वर्षा कमै भयो । वर्षा भएको भए सायद त्यत्तिको गर्मी महसूस हुँदैन थियो । यसो त यस वर्षको गर्मीले अहिले विश्राम लिने समय नजीकिंदै छ । तीन दशक अघिसम्म असोज महीनामा बिहानीपख अलिअलि चीसो महसूस हुन्थ्यो । तर हालको समयमा भने असोज महीनामा पनि प्रचण्ड गर्मीको सामना गर्नुपरिरहेको छ । समयमा वर्षा नभएरै होला बितेका वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी भएको महसूस गरिंदैछ । असोज महीनाको पहिलो साता बित्न लाग्दा पनि अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष तुलनात्मकरूपमा अचाक्ली गर्मी बढ्ने भन्दै सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । मौसम पूर्वानुमान महाशाखाले अहिले हिले दशैंको सङ्केत दिएको छ । मनसुन भित्रिएको तर यस वर्ष अहिलेसम्म बाहिरिनुपर्नेमा सो नभएकोले यस वर्ष दशैंमा वर्षा हुने र हिले दशैंको सम्भावना देखाए पनि अहिले भने पर्सा, बारा, रौतहटलगायतका जिल्लामा चर्काे गर्मीले जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण अहिले विद्यालयहरूमा विद्यार्थीहरू बेहोश हुन थालेपछि कतिपय पालिकाहरूले बिहानीपख विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेका छन् भने कतिपय पालिकाहरूले एकाध दिनका लागि विद्यालय नै बन्द गरेका छन् । अत्यधिक गर्मी बढेको कारण घरबाहिर ननिस्कन, निस्कनै परे टाउकोमा कपडा राखेर निस्कन, सुतीको पातलो कपडा लगाउन र पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउन चिकित्सकहरूले गर्मीयाम शुरू भएसँगै सुझाउँदै आएका छन् । गर्मी बढेसँगै विभिन्न रोगका प्रकोप पनि बढ्न थालेका छन् । अस्पताल, स्वास्थ्य चौकीहरूमा बिरामीहरूको चाप घटेको छैन । बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो लाग्ने, टाउको दुख्ने जस्ता रोगका प्रकोप जारी नै रहेको चिकित्सकहरू बताउँछन् ।
अहिलेसम्म गर्मीले बिदा लिनुपर्ने हो तर केही वर्षदेखि असोज महीनामा गर्मीयाममा सबैभन्दा बढी गर्मी महसूस गरिंदैछ । यसो त मधेस प्रदेश र तराईका जिल्लामा गर्मीयाममा ४१ डिग्री सेल्सियससम्म तापमान मापन हुँदै आएको थियो तर भैरहवा, नेपालगंजमा ४३ डिग्री सेल्सियससम्म मापन भएको बताइन्छ । पर्सा जिल्लामा भने ४१ बढी मापन भएन । अहिले गर्मीयाममा मापन भएको ४१ डिग्री सेल्सियस छैन र ३७–३८ को आसपासमा तापमान मापन हुँदैछ । तर पनि अहिले गर्मी ४१ डिग्री सेल्सियसभन्दा बढी महसूस गरिंदैछ । तसर्थ गर्मीको बिदाइ हुने बेलामा बढेको गर्मीसँग पैठेजोरी खेल्नु उचित हुँदैन । मौसम परिवर्तनको समयमा स्वास्थ्यप्रति चिन्तनशील हुनु राम्रो हो, हैन भने अनाहकमा मौसमी बिरामीले सताउन सक्छ ।