प्रस, परवानीपुर, ४ असोज/
इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४–१९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग प्रतियोगिताको लागि मधेस युनाइटेड टीमबाट बाराकी मीना चौधरी छनोट भएकी छन् ।
मधेस युनाइटेड महिला भलिबल टीमले शुक्रवार ज्ञानदा एकेडेमीमा आयोजना गरेको ट्यालेन्ट हन्ट प्रतियोगिताबाट चौधरी छनोट भएकी हुन् । वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले छनोट प्रतियोगिताको उद्घाटन गरेका थिए । आज चारवटा महिला भलिबल टीमबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट एकजनाको छनोट गरिएको मधेस युनाइटेडकी प्रमुख प्रशासकीय अधिकृत संज्ञा श्रेष्ठले बताइन् ।
पहिलो चरणमा ठोरी गापा महिला भलिबल टीम र सर्लाहीबीच भएको प्रतिस्पर्धामा सर्लाही विजय भएको थियो । यसैगरी, बारा र जनता मावि, पर्सागढीबीचको खेलमा बारा विजयी भएको थियो । बारा र सर्लाहीबीचको फाइनल खेलमा बाराले जीत हासिल गरेपछि बाराकी चौधरी छनोट भएकी हुन् । उनी मधेस युनाइटेडका १२ महिला सदस्यको रूपमा प्रतियोगितामा समावेश हुनेछिन् ।
महिला भलिबलका खेलाडीहरूलाई अवसर दिन फ्रेन्चाइज लिगको पहिलो संस्करण हुन गइरहेको छ ।
प्रतियोगितामा मधेस युनाइटेडसँगै काठमाडौं, ललितपुर, चितवन, गण्डकी र कर्णाली गरी छवटा टीम सहभागी छन् ।