‘फेरि नफर्किने ती दिनहरू’मा बरालिंदा गोपाल अश्कसित मेरो घरमा आइपुग्नु हुँदा विनयराज गौतमजीले आफ्नो पहिलो किताब मलाई दिनुभएको बारे सोध्नुभयो । मैले मनमनै किताब पाएको कुरा सम्झिने प्रयास गरें तर सम्झना भएन । उहाँको बोलीमा दृढता थियो । अनि मैले झूटो बोल्दै भनें– हो मैले पाएको छु । मेरो बोलीमा दम थिएन । तर पनि पत्याउनुभएछ ।
वीरगंजमा गोपाल अश्कलाई नारायणी वाङ्मय पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा उहाँसित सल्लाह गरें– भोलि विमोचन हुने किताब सुटुक्क दिनुहोस् । समीक्षकलाई पहिले दिंदा पनि हुन्छ । यस्तो चलन छ ।
कार्यक्रम सकिएपछि उहाँले दुईटा पुस्तक मलाई दिनुभयो– मृत्युको छहारीमा र फेरि नफर्किने ती दिनहरू । उहाँको पहिलो पुस्तक अझै पढिसकेको छैन । समय मिलाएर पढ्नेछु किनभने उहाँको रचना पढ्दा समय खेर गएको लाग्दैन । समयको लगानी उठ्छ ।
मैले वचन दिएबमोजिम पहिले पढें दोस्रो कृति– फेरि नर्पिmकिने ती दिनहरू ।
अहिले सम्झना छैन– गौतमजीसित मेरो भेट कहिले भएको थियो तर हामी पूर्वपरिचित हौं । अहिलेसम्म उहाँका प्रकाशित दुवै पुस्तक मसित छन् । मैले उहाँको दोस्रो कृति पहिले पढेर दुर्ई शब्द कोर्दैछु ।
‘फेरि नफर्किने ती दिनहरू’ शीर्षक हेर्दा बितेका दिनहरू केही बढी प्रिय भएको जस्तो लाग्छ । जे हातबाट गइसक्यो, त्यो प्यारो हुन्छ । तर यसको सोझो जवाफ छ– भविष्यका दिन पनि फर्केर आउँदैनन्, वर्तमानका दिनहरू पनि फर्किदैनन् । कुनै पनि दिन दोहो¥याएर आएको हुँदैन । हो, विगतलाई सम्झेर रमाइला क्षणहरूमा रमाउँछौं, पीडाका क्षणहरू सम्झेर पीडित बन्छौं । यस कृतिको प्रकाशन तन्नेरी प्रकाशन काठमाडौंले गरेको छ । ‘फेरि नफर्किने ती दिनहरू’लाई संस्मरण सङ्ग्रह भनिएको छ तर यसमा केही नियात्रा पनि छन् । २०८१ (असार)मा पहिलो संस्करण प्रकाशित छ ।
कृतिको मूल्य भने ९०० अलि चर्को लागिरहेको छ । यद्यपि कुनै पनि कृतिको मूल्य भने त्यस कृतिको भौतिक तौलको आधारमा होइन, त्यसमा परेको वास्तविक लागतको आधारमा हुनुपर्छ ।
कृतिको पहिलो रचना ‘सात्विक भोजन’को स्वाद ज्यादै नमीठो रहेछ । सुनाइ र बुझाइमा हुने पृथक अर्थबोधले परेको मर्का नमीठो रहेछ । हास्यरसको उत्पत्ति त हुन्छ तर गम्भीर प्रश्न पनि उब्जन्छ । ‘एउटा अविस्मरणीय यात्रा’ छात्रावासमा बस्दाको समयको साँच्चिकै रोचक र अविस्मरणीय यात्रा हो । ‘म ब्राह्मण हुँ, हिन्दू होइन’ शीर्षकको संस्मरणले त्यो जमानामा पनि धर्म परिवर्तन गर्ने तथा संस्कृति रक्षा गर्नुपर्छ भन्नेहरूबीचको प्रसङ्ग रोचक शैलीमा प्रस्तुत भएको छ ।
‘वीरगंजमा विद्यार्थी जीवन’मा एक विद्यार्थीले डेरामा बसेर घरभन्दा बाहिर पढ्नुपर्दाको अवस्थाको वर्णन यसमा रहेको छ । ‘मर्नबाट जोगिएको दिन’ मा एउटा दुर्घटनामा परेको विवरण रहेको छ । अलिकति आध्यात्मिक वा आस्तिक भावलाई यसमा प्रस्तुत गरिएको छ । ‘म त्यहीं गाउँको हुँ’ जम्मा तीन अनुच्छेदमा रचित उत्सुकतापूर्ण शैलीको प्रयोग गरी लेखिएको निबन्ध हो । यसमा झुक्याएर काम गर्ने तरीकाप्रति नमीठो भाव उमारिएको छ । ‘हृदय मृत्युसँग लडिरहँदा’ शीर्षकको संस्मरणमा करुण रस पर्याप्त छ । दाजुसित सम्बन्धित भएर लेखिएको यस निबन्धको अन्तमा भने केही सन्तोषजनक वाक्यहरू परेका छन् । ‘पदीय जिम्मेवारी’ संस्मरणले मनमा एक किसिमको आक्रोश र क्षोभ उत्पन्न गराउँछ । ‘अनुमति बदर’ वैचारिक दृष्टिकोणले उत्कृष्ट निबन्ध हो । ‘श्रीमती हराउँदा’ शीर्षकले दशैंको मेलामा लेखककी पत्नी केहीबेर ओझेल हुँदा भएको समस्या र तनावलाई चित्रण गरेको छ । भयावह परिवेशमा ‘ज्वालाजीको दर्शन’ गरिएको रोचक प्रसङ्गको वर्णन छ ।
‘पहिरोमा घेरिंदा’ रोचक संस्मरण हो । जागीरको क्रममा गर्नुपरेका यात्राहरूमध्ये यस यात्रा संस्मरणमा उत्सुकता र भय एकसाथ बग्छ । करीब तीन दशक पहिले गरिएको यो ‘झरीमय यात्रा’ चाहिं अझ भयावह परिस्थितिको वर्णन गर्ने संस्मरण हो । कार्यालयको काममा हाकिमको अत्यधिक विश्वास हुँदा वा अत्यधिक इमानदारीपूर्वक काम गर्दा विश्वासले पाइने दुःखको फेहरिस्त पनि यसका छन् । अहिले अलिक कम भएको छ, हैन भने जातजातिमा हुने भेद त पहिले पनि थियो । शिक्षितहरूले पनि जातजातिमा गर्ने भेदको नमीठो संस्मरण ‘जातको पनि जात’ हो । विवरणात्मक शैलीका लेखिएको संस्मरण हो ‘पिताजी आमासँग तीर्थयात्रा’ । भारतको विभिन्न प्रमुख तीर्थस्थलहरूको गरिएको यात्राको विवरण रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
‘योग्यतामाथि प्रश्नचिह्न खडा हुँदा’ अन्तर्मनदेखि आवेग आउनु स्वाभाविक हो । एक अस्पतालमा पिताजीको उपचारको क्रममा रहँदा एक बिरामीले देखाएको आत्मीयताले द्रवीभूत ‘फेरि भेट हुन सकेन’ संस्मरण जति मार्मिक छ, त्यत्ति नै संवेदनशील पनि । मानिसलाई मृत्युको आभास शायद पहिले नै हुँदोरहेछ भन्ने कुरो यसमा देखाइएको छ । बुबाको ‘दुर्घटनाको खबर पाउँदा’ संस्मरणमा एक असल अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका नायकले निर्वाह गरेको प्रमाण हो भने ‘सम्झनामा पिताजी’ शीर्षक निबन्धमा शीर्षकानुकूलकै विषयवस्तु रहेको छ । पिताजीसितका अनेक रोचक, मार्मिक तथा सन्देशमूलक स्मृतिहरूलाई यसमा समेटिएको छ । आमालाई गुमाएको मार्मिक सन्दर्भ रहेको संस्मरण हो ‘ऊ आफैं बिरामी छ’ । छोरो बिरामी हुँदाको अवस्थाको ‘भाषाको कमाल’ संस्मरणमा भाषाले परदेशमा पनि आफन्त पाइँदो रहेछ भन्ने सिकाएको छ ।
‘यो कस्तो राष्ट्रियता’ वैचारिक संस्मरण हो । ऋतिक रोशन काण्डदेखि मधेस आन्दोलनसम्मको नमीठा अनुभूतिहरू यसमा समेटिएका छन् । दर्जनौं प्रश्न यसमा रहेका छन् । ‘अमेरिकाको यात्रामा भेटिएका दाजु–भाउजू’ संस्मरण मानवताले भरिएको निबन्ध हो । गेस्ट हाउसका सञ्चालकलाई पतिपत्नीलाई दाजुभाउजू सम्बोधन गरिएको यो संस्मरण यस कृतिको निकै मूल्यवान् रचना हो । अमेरिका बसाइँको संस्मरण ‘धन्यवाद छ कालो शुक्रवार’मा संस्मरणकारले अमेरिकाको एउटा संस्कृतिप्रतिको धारणा प्रस्तुत गर्नुभएको छ । धन्यवाद दिवस र कालो शुक्रवार संस्कृतिको परिचय यसमा पाइन्छ । ‘सुन्दरीजलको सुन्दर यात्रा’मा पनि संस्मरणकारका गन्थन पर्याप्त छन् । कृतिको अन्तिम रचनाको रूपमा रहेको छ ‘कहिल्यै बिर्सन नसकिने मिलन’मा पहिलो वाक्य असान्दर्भिक छ । शीर्षकले नमागेको प्रसङ्ग गाउँले काकाको पनि हो । दशैंको समयमा घरमा सम्पूर्ण परिवारको मिलन भएको कुरो यसमा वर्णित छ ।
प्रस्तुत ‘फेरि नफर्किने ती दिनहरू’ संस्मरणात्मक निबन्ध सङ्ग्रहलाई अनुभवको सङ्कलन मान्न सकिन्छ । कैयौं दशक पुरानादेखि निकट भूतसम्मका संस्मरणलाई समेटेर संस्मरणकार गौतमले आफूभित्र रहेका स्मृतिका पेटाराहरू खोल्नुभएको छ । मनमा लुकेर बसेका अनेक भावलाई प्रस्तुत गर्नुभएको छ । आफ्नो परिवार तथा समाजलाई धेरै उपयोगी सामग्री सदाका लागि सङ्कलन गरेर राख्नुभएको छ । आत्मगन्थन तथा तद्युगीन परिवेशको वार्तमानिक मूल्याङ्कन र लेखकको संयमता पनि कृतिमा देख्न सकिन्छ ।
कृतिकार गौतमको संस्मरण लेखनशैली वर्णनात्मक छ । सरल प्रवाहमा स्मृतिका छालहरूलाई अवतरण गर्नुभएको छ । कतिपय ठाउँमा स्थानीय भाषा र उखानको उपयोग गर्नुभएको छ । आफ्नो मौलिक शैलीमा विषयवस्तुको प्रस्तुति गर्नुभएको छ । कतिपय ठाउँमा राखिएको संवादले संस्मरणलाई जीवन्त तुल्याएको छ । प्रस्तुत सङ्कलनमा कतिपय शुद्ध संस्मरण छन् भने कतिपय चाहिं नियात्रा पनि बन्न पुगेका छन् ।
नियात्राहरूमा पाठकलाई सँगसँगै डो-याएर लैजान सक्ने अवस्था अलिक लोभलाग्दो हुन सकेको छैन । सरलता, रोचकता, उत्सुकता संस्मरणकार गौतममा पाइने मुख्य विशेषता हुन् भने सङ्ग्रहकै आधारमा लेखक सहनशील, आत्मसंयमी र कर्मठ तथा सङ्घर्षशील हुनुहुन्छ । निवृत्त जीवनलाई सिर्जनामय बनाइरहनुभएका आदरणीय सर्जक विनयराज गौतमको आगामी सिर्जना अझ पठनीय भएर आओस् भन्ने शुभकामना छ ।