धर्मेन्द्र चौरसिया, पोखरिया, ३ असोज/
पर्साको ग्रामीण भेगमा डेङ्गी रोगका बिरामीहरू बढ्दै गइरहेका छन् । पोखरिया नगरपालिकालगायत ग्रामीण भेगमा विगत केही दिनदेखि डेङ्गी रोगका बिरामीहरू बढ्दै गएको पोखरिया जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवले बताए ।
उनले अहिले दैनिकजसो एक/दुई जना डेङ्गी रोगका बिरामीहरू फेला पर्ने गरेको बताए । अहिले पोखरिया जिल्ला अस्पतालमा दैनिक करीब दुई सय बिरामीको चेकजाँच भइरहेको र तीमध्ये एकाधमा डेङ्गी रोगका बिरामी हुने गरेको उनले बताए ।
उनले अस्पतालमा ज्वरोका बिरामीहरूको रगत परीक्षण गर्दा उनीहरूमा डेङ्गी फेला परेको बताए । निमित्त मेसु डा यादवले एक सातामा पाँचजनामा डेङ्गी रोग फेला परेको बताए ।