प्रस, वीरगंज, ३ असोज/
संविधान दिवसको विरोधमा प्रदर्शन गर्दा वीरगंजमा आम जनता पार्टी र जनमत पार्टीका नेता, कार्यकर्ताहरूलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
संविधान दिवसको विरोधमा बिहीवार तीनवटा पार्टीले विरोध कार्यक्रम गरे पनि प्रहरीले दुई पार्टीका १५ जनालाई नियन्त्रणमा लिएको छ ।
दिवसको विरोधमा आजपाले आज वीरगंजमा संविधानको अन्त्येष्टि कार्यक्रम आयोजना गरेको थियो । संविधानविरोधी नाराबाजी गरेर प्रदर्शन गरेको आजपाका नेता, कार्यकर्ताहरूले अन्त्येष्टि कार्यक्रम गर्न नपाउँदै दिउँसो प्रहरीले हस्तक्षेप गरेर बाबुराम कौशिकलगायत नौजनालाई नियन्त्रणमा लिएको थियो ।
यसैगरी, साँझ मधेस प्रदेशको सत्तारूढ जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफसहित छजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कालो ब्यानरमा संविधान दिवसको विरोधमा उत्रिएका जनमत पार्टीका कार्यकताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, पर्साले पनि घण्टाघरमा संविधानको विरोधमा प्रदर्शन गरेको थियो । जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा नेतृत्वमा लोसपाका कार्यकर्ताहरूले कालो झन्डा उडाएर प्रदर्शन गर्दा प्रहरीले कालो झन्डा नियन्त्रणमा लिएको थियो । नेता, कार्यकर्तालाई भने पक्राउ गरेन ।
संविधान जारी भएदेखि मधेस प्रदेश सरकारको बागडोर सम्हाल्दै आएको जसपा नेपालले भने आज संविधानविरुद्ध कुनै पनि गतिविधि गरेको पाइएन । जसपा नेपालका नेताहरू केन्द्रीय सरकार र मधेस प्रदेशको सरकारमा बस्दा आजको दिनलाई कालो दिनको रूपमा मनाउँदै आएका थिए । सरकारीस्तरबाट मनाइने कार्यक्रममा पनि सहभागी हुने गरेका थिएनन् । अहिले जसपा नेपाल टुक्रिएर जसपा भएको छ । जसपा सङ्घीय सरकारमा छ भने जसपा नेपाल सङ्घ र प्रदेश दुवैबाट बाहिरिएको छ ।