प्रस, परवानीपुर, ३ असोज/
मधेस प्रदेशमा विषयगत शिक्षकको अभाव नै शिक्षामा मुख्य समस्याको रूपमा देखिएको मधेस प्रदेशका खेलकूद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बताएका छन् ।
बाराको प्रसौनी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा मन्त्री जयसवालले अहिले मधेसको शिक्षाको मुख्य समस्या र चुनौती भनेको पर्याप्त सङ्ख्यामा विषयगत शिक्षक नहुनु बताए । उनले एउटा कक्षामा सयजना विद्यार्थीलाई पढाउनुपरेको छ, भौतिक पूर्वाधारको कमी रहेको छ, अनि यो अवस्थामा अधारभूत र मावि तहमा अङ्ग्रेजी र विज्ञान विषयको दरबन्दी अनुसारको शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या हुनु स्वाभाविक भएको बताए ।
उनले विभिन्न जिल्लाका पालिकाहरूको अनुगमन, अवलोकन गरिरहेको र मधेसको शिक्षा र खेलकूद क्षेत्रको समस्यालाई माथिल्लो निकायमा उठान गरी समाधानको लागि पहल गर्ने बताए । गापाध्यक्ष विनोद जयसवालले प्रसौनी गापामा शिक्षाको विकासको लागि आफू सबैभन्दा बढी केन्द्रित भएको दाबी गरे । उनले सामुदायिक विद्यालयमा प्रभावकारी शिक्षण सिकाइको कारण पछिल्लो समय यहाँका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढिरहेको बताए । उनले सबैको साथ र सहयोगबाट प्रसौनीमा शिक्षाको स्तर वृद्धि हुने बताए ।
कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा कक्षा १ देखि ९ सम्म प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । यसैगरी, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा पालिकाभरिमा उत्कृष्ट अङ्क ल्याउने पाँच/पाँच जना छात्रछात्रालाई जनही रु पाँच हजार नगदसहित सम्मानित गरिएको थियो । त्यसैगरी, प्रसौनी गापा– ५, ६ र ७ का क्रमशः प्रस्टोका मावि, बेलहिया मावि र बन्जरिया माविका कक्षा ९ मा अध्ययनरत ८२ जना जेहेन्दार विद्यार्थीहरूलाई साइकल वितरण गरिएको थियो ।
त्यसैगरी, जिल्लामा माध्यमिक परीक्षामा दोस्रो स्थान ल्याउने नेरामावि, खुटवालाई नगद एक लाखसहित सम्मानित गरिएको थियो भने पालिकामा एसइईमा उत्कृष्ट नतीजा ल्याएको बेङ्गा साह मावि प्रसौनीका पाँच/पाँच जना छात्रछात्रालाई जनही नगद रु २५ हजार र साइकल वितरण गरिएको थियो । एसईइमा उत्कृष्ट जिपिए ल्याउने एक/एक जना छात्रछात्रालाई ल्यापटप पनि प्रदान गरिएको थियो । यसैगरी, कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एक/एक जना छात्रछात्रालाई ल्यापटप प्रदान गरिएको थियो ।
समारोहमा गापा उपाध्यक्ष किरण देवी, बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, शैक्षिक तालीम केन्द्र कलैयाका प्रमुख ठूलोबाबू दाहाललगायतको सहभागिता थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्तोष रौनियारले शिक्षा दिवसको बारेमा प्रकाश पारेका थिए भने स्वागत प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंहले र सहजीकरण प्रेमचन्द्रप्रसाद साहले गरेका थिए ।