प्रस, निजगढ, २ असोज/
नेपाली वैज्ञानिक डा महावीर पुनले आफूले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पुस्तकमा कसरी मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिन्छ भन्ने कुराको गहिरो विश्लेषण गर्न खोजेको बताएका छन् ।
नगर उद्योग वाणिज्य सङ्घ, निजगढद्वारा बुधवार साँझ आयोजित स्वागत कार्यक्रममा डा पुनले देशको तीन करोड जनसङ्ख्यामध्ये एक प्रतिशत अर्थात् तीन लाखजनाले मात्रै पुस्तक खरीद गर्ने हो भने आफ्नो अभियान पूरा हुुने बताए । उनले महाकालीबाट शुरू गरिएको पुस्तक बिक्री अभियान बारासम्म आइपुग्दा लगभग एक लाख ३५ हजार थान बिक्री भइसकेको र यात्रालाई निरन्तरता प्रदान गर्दै मेचीसम्म लैजाने बताए ।
उनले दशकौंदेखि बन्द रहेको वीरगंजस्थित कृषि औजार कारखानाका मेशीनहरू मरम्मतसम्भार गरी सञ्चालनमा ल्याउनका लागि खर्च हुने रकमको सोधभर्ना नेपाल सरकारले गर्ने सम्झौता भएको बताए । २५ जना इन्जिनीयर र वैज्ञानिकको टोलीले ११ महीना लगाएर कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सफल भएको उनले बताए । सो कार्यमा एक करोड रकम खर्च भएको तर तत्कालीन अर्थमन्त्रीले सरकारसँग भएको सम्झौताबापतको रकम उपलब्ध नगराइ आफूहरूलाई धोका दिएको कारणले नै कृषि औजार कारखाना सञ्चालनका लागि पुस्तक लेख्ने, प्रकाशन गर्ने र बिक्री गर्ने योजना सिर्जना भएको बताए ।
उनले विश्वमा आविष्कार र अनसन्धानमा लगानी गर्ने देशहरू मात्र आर्थिकरूपमा अघि बढ्दै समृद्धितर्फ अग्रसर भइरहेको बताए । आर्थिक समृद्धितर्फ अघि बढ्न नेपालमा पनि सम्भावना अधिक रहेको चर्चा गर्दै उनले यसमा नेपाल सरकार भने अल्मलिइरहेको आरोप लगाए । जुन देशले आविष्कार र अनुसन्धानमा खर्च गर्दैन, त्यस्तो देश अहिलेको परिवेशमा उँभो नलाग्ने उनले ठोकुवा गरे । उनले आफूले लेखेको आत्मकथा पुस्तकमा पनि सोही कुरा उल्लेख रहेको बताए ।
उनले भने, “जुन देशमा आविष्कार र अनुसन्धान हँुदैन, त्यहाँ उद्योगधन्दा, कलकारखानाको विकास हुँदैन । जहाँ उद्योगधन्दा, कलकारखाना हुँदैनन्, त्यो देशको विकास हुँदैन ।”
वीरगंजस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफूले चालेको अभियान विशुद्ध समाजसेवा भएको उनले प्रस्ट्याए ।
कार्यक्रममा नगर उद्योग वाणिज्य सङ्घ निजगढकी उपाध्यक्ष उषा लामा, समाजसेवी रविराज दङ्गाल, ज्ञानेन्द्रप्रसाद चौलागाईं, पत्रकार जीतलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नगर उद्योग वाणिज्य सङ्घ निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्दीप कोइरालाले गरेका थिए ।