प्रस, वीरगंज, २ असोज/
मिटरब्याज समस्या तथा समाधानबारे वीरगंजमा आयोजित अन्तत्र्रिmयामा सहभागीहरूले साँवाभन्दा बढी ब्याज रकम तिरिसक्दा पनि साहुमहाजनले ऋण मुक्त नगरेको आरोप लगाएका छन् ।
मिटरब्याजीविरुद्ध किसान मजदूर आन्दोलन भोजपुरा कमान्ड पर्साद्वारा आयोजित कार्यक्रममा पीडितको पीडा सुन्ने र सम्बन्धित निकायलाई त्यसबारे जानकारी गराएर विवादको निकास खोज्ने प्रयास गरिएको संस्थाका वीरगंज महानगर अध्यक्ष शम्भुप्रसाद यादवले बताए । उनले तराईमा धमिराजस्तो गरीब निमुखालाई भित्रैभित्रै मिटरब्याजीहरूले खाइरहेको र सो विकृति अन्त्य गराउन जरुरी भएको बताए । उनले पीडितहरूको पक्षमा बोल्नेहरूलाई सामाजिक र कानूनी न्याय दिलाउनका लागि आफूहरू लागिपरेको बताए ।
अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धमा दुई हजार १४० वटा उजूरी अहिलेसम्म परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । यस अघि जिल्ला प्रशासन कार्यालय, पर्साले २०८० वैशाखदेखि यस्ता उजूरी हेर्न थालेकामा केन्द्र सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले २०८० माघ १७ देखि सम्पूर्ण उजूरी प्रहरीको जिम्मा लगाएको र सोहीअनुरूप प्रहरीले कामकारबाही अगाडि बढाएको बताए ।
उनले जिल्ला प्रशासन कार्यालय, पर्साले प्रहरीलाई एक हजार ६६१ वटा उजूरी जिम्मा लगाएको र त्यसमध्ये २२० वटा उजूरीको निर्णय भइसकेको बताए । उनले प्रहरीले हेर्न थालेपछि थप ५४० वटा उजूरी दर्ता भएको बताए । उनले हालसम्म दुवै पक्षलाई राखेर समस्या समाधानको प्रयास गर्दा १३ वटा उजूरीमा ११ जना पक्राउ परेको जानकारी गराए । कुल उजूरीमध्ये ९३२ प्रहरीले र २२० प्रशासनले गरी एक हजार १५२ वटा उजूरी छलफलबाट टुङ्ग्याएको र मेलमिलाप हुन बाँकी एक हजार ३६ वटा उजूरी रहेको उनले बताए ।
यस अघि कालिकामाई गाउँपालिका–५ का विक्रम ठाकुर, वीरगंज महानगरपालिका–१८ सौराहाका लालबाबू यादवले साहुमहाजनबाट लिएको ऋणको साँवा र ब्याज बुझाउँदा पनि आफ्नो जग्गा नाममा नगरेको आरोप लगाए । थोरै पैसा दिने अनि धेरैको तमसुक बनाउने, चेक लिने र चेक बाउन्स गराएर उल्टो कारबाही गराउने परम्पराको अन्त्य हुनुपर्ने बताए । आफूहरूको खातामा अहिलेसम्म नभएको रकमको चेक काटिनु र त्यस्तो चेक किन कसरी काटियो भनेर सोधखोज नगरी कारबाही गर्ने परम्परा पनि राम्रो नभएको बताए । उनीहरूले वडाबाट तमसुक, चेकको व्यवस्था भएपछि गरीबहरूले ऋण पाउन अलि गा¥हो भएपनि यसबाट सुधार आएको र अनाहक साहुमहाजनको चक्करमा मानिसहरू फस्ने घटनामा कमी आएको बताए ।