धर्मेन्द्र चौरसिया, पोखरिया, २ असोज/
गण्डक नहरदेखि दक्षिणी क्षेत्र बझियानमा अहिले युरिया मलको कालोबजारी शुरू भएको छ । अहिले यहाँका किसानहरूलाई युरिया मलको आवश्यकता छ तर सहकारीबाट मल किसानहरूले पाइरहेका छैनन् र छिमेकी भारतबाट ल्याउनुपर्दा महँगोमा खरीद गर्नुपरिरहेको छ ।
युरिया मल प्रति ५० किलो बोराको रु ९०० पर्छ तर अहिले सहकारीले मल उपलब्ध नगराएको र बजारबाट रु ११०० मा किसानहरूले खरीद गर्नुपरिरहेको छ । सीमावर्ती क्षेत्र भारतका बजारबाट केही किसानहरूले मल खरीद गरेर ल्याउने र जोहो टार्ने गरिरहेका छन् । तर पछिल्लो समयमा सीमाबाट हुने अवैध आयात–निर्यातमा सीमा प्रहरीले कडाइ गरेका कारण किसानहरू सीमापारि गएर मल ल्याउन पनि सकिरहेका छैनन् ।
अहिले पोखरियालगायत बझियानका बजार क्षेत्रमा रहेका पसलहरूमा अनधिकृतरूपमा मल बिक्री भइरहेको छ । पान, जुत्ता र किराना पसलहरूमा युरिया मल बिक्री भइरहेको देख्न सकिन्छ । मल बिक्रीका लागि सहकारीलाई मात्र जिम्मेवारी दिइएको छ । अनधिकृतरूपमा बिक्री भइरहेका मल सहकारीद्वारा पसलहरूलाई उपलब्ध गराइएको किसानहरूले आरोप लगाएका छन् । अहिले बजारमा अनधिकृत बिक्री हुने मल नेपालकै हो ।
नरेश यादव, पर्सागढी/
गण्डक नहरदेखि उत्तरतर्फ थरुहट क्षेत्रमा भने मलको सहज उपलब्धता छ । अहिले यहाँका सहकारीहरूमा युरिया, पोटास र डिएपी सहज पाइरहेको किसानहरूले बताएका छन् । मल सहज तरीकाबाट प्राप्त भएपनि अहिले यस क्षेत्रका किसानहरूलाई धानबालीका लागि भने मलको आवश्यकता छैन । सिंचाइको वैकल्पिक व्यवस्थाका कारण यहाँका किसानहरूले आकाशे पानी पर्नु अघिदेखि नै धान रोपनी शुरू गरेका थिए । यसपटक पानी थोरै परे पनि नियमितरूपमा किसानहरूलाई आवश्यकता परेको बखत पानी परेकोले झनै सहजता भएको थियो । धानबाली रोप्ने बखत युरिया, डिएपी र पोटास आवश्यक हुन्छ, त्यसपछिको २१ दिनमा युरिया र दुई महीनापछि पुनः युरिया आवश्यक हुन्छ । यी तीनै क्रिया अहिले सम्पन्न भएकाले किसानहरूले मकै र आलु खेतीका लागि मल सञ्चय गरिरहेका छन् । कात्तिकको अन्तिम र मङ्सिरमा मकै र आलु खेती शुरू हुन्छ । त्यतिखेर मल सहज नहोला भनेर अहिलेदेखि थरुहट क्षेत्रका किसानहरूले मलको सञ्चय शुरू गरेका हुन् ।