प्रस, वीरगंज, २ असोज/
नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लागेको ताला खोलिएको छ । बुधवार कार्यवाहक अध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी हराएको व्यङ्ग्यात्मक पोस्टर महासङ्घमा टाँसेर विरोध भएपछि कावा अध्यक्ष विष्ट, महासचिव पुरीलगायत केन्द्रीय पदाधिकारीहरू महासङ्घमा पुगेर ताला खोल्न लगाएका थिए ।
उनीहरूले जिल्ला शाखाको मागलाई सम्बोधन गर्ने आश्वासन दिएपछि भदौ ३० गतेदेखि लगाएको ताला खोलिएको थियो । पछिल्लोपटक महासङ्घले असोज १२ गते निर्वाचन मिति तोकिएर भदौ २९ गते सदस्यता नामावली सार्वजनिक गरेसँगै देशभरका शाखाहरूले आपत्ति जनाएका थिए ।
प्रेस युनियन आबद्ध जुम्ला शाखाले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर धर्ना शुरू गरेको थियो भने मधेस प्रदेशका आठ जिल्लामध्ये सात र देशभरका ५३ शाखाले नयाँ सदस्यता नामावली यस अघिभन्दा बढी विवादित रहेको र अनियमित तरीकाबाट भद्रगोल गर्नेगरी जिल्ला, प्रदेश र केन्द्रमा समेत आवेदन नपरेकाहरूलाई हचुवाको भरमा पुरानो सदस्य भनेर नवीकरण गरिएको र नयाँ सदस्यता दिएको भन्दै विरोधमा व्यक्तव्य प्रकाशित गरेका थिए ।
यससम्बन्धी विरोधलाई सम्बोधन गरेर मात्र निर्वाचन गराउन बुधवार ५३ जिल्लाका अध्यक्षहरूको विरोधपूर्ण हस्ताक्षर भएको ध्यानाकर्षणपत्र कावा अध्यक्ष विष्टलाई बुझाएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले बताए । कावा अध्यक्ष विष्टले जिल्लाको माग सम्बोधन हुने आश्वासन दिएको अध्यक्ष तिवारीले बताए ।
उनले केन्द्रीय कमिटीको बैठक बसेर माग सम्बन्धमा छलफल हुने जानकारी गराए । असोज १२ गते हुने भनिएको चुनावका लागि असोज ४ गते उम्मेदवारी दर्ता मिति तोकिएको छ ।