प्रस, रौतहट, ३१ भदौ/
नेपाल पत्रकार महासङ्घले सदस्यता वितरणमा अनधिकृतरूपमा सङ्ख्या बढाएको आरोप लागेर देशभरिका जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन प्रभावित भएको बेला रौतहटमा भने सदस्य सङ्ख्या विगत केही वर्षदेखि घटदै गएको पाइएको छ ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वसभापति रवीन्द्रप्रसाद साहको पालामा शाखा सदस्य सङ्ख्या ७६ थियो । उनकै पालामा नेपाल पत्रकार महासङ्घले सदस्यता सुदृढीकरण अभियान चलाउँदा २० जना सदस्यलाई हटाइएको थियो । पत्रकारिता नगरी अन्य पेशामा रहेका र पत्रकारको आवरण भिडेका २० जनालाई निष्कासन गरिएपछि रौतहटमा पत्रकार महासङ्घको सदस्य सङ्ख्या ५६ मा झ-यो ।

अहिले नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले त्यो सङ्ख्याबाट पनि २१ जनालाई पुनः सुदृढीकरणको अभियान चलाएर सदस्यता नवीकरण गरेन । अध्यक्ष प्रेमचन्द्र झाले आफ्नो कार्य समितिबाट पत्रकारितामा सक्रिय नरहेका र अन्य पेशा व्यवसायमा लागेका २१ जनाको सदस्यता नवीकरण नगरेको र अब जिल्लाको सदस्य सङ्ख्या ३५ मा झरेको बताए । उनले विधानतः अधिवेशन सकिएपछि र पुनः अधिवेशन हुनु छ महीनाअगावै नयाँ सदस्यहरूको टुङ्गो लगाउनुपर्नेमा सोको विपरीत चुनावको समयमा सदस्यता वितरण गर्ने र त्यसबाट विवाद सृजना हुने गरेकाले विगत छ वर्षदेखि यो शाखाले नयाँ सदस्यता वितरण गरेकै छैन ।

यसपटक पनि यो शाखाले नयाँ सदस्यताका लागि आवदेन बुझेन र दिएन पनि । चुनाव लक्षित सदस्यता वितरणका कारण अहिले देशभरि विवाद सृजना भएपनि रौतहटमा भने त्यस्तो विवाद छैन । त्यसैले यो शाखाका अध्यक्षले विधानसम्मतरूपमा सदस्य वितरणको पक्षमा आवाज उठाउँदै आएका छन् ।

छ वर्षदेखि नयाँ सदस्यता नदिएको र सुदृढीकरणका नाममा सदस्य सङ्ख्या घटाउँदै गएकोले यो शाखाको सदस्य सङ्ख्या अहिले शाखा स्थापनाकालभन्दा पनि कम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here