प्रस, सिम्रौनगढ, ३१ भदौ/
राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुन सोमवार बाराको सिम्रौनगढ पुगेका छन् । उनीद्वारा लिखित आत्मकथा पुस्तक बिक्रीका लागि आज त्यहाँ पुगेका डा पुनलाई नागरिक समाज सिम्रौनगढले भव्य स्वागत गरेको थियो ।
डा पुनद्वारा लिखित पुस्तक बिक्री गरेर सोबाट हुने आम्दानी वीरगंजस्थित कृषि औजार कारखाना सञ्चालनमा खर्चिने उद्देश्य रहेको छ । उनले ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल सिम्रौनगढ आफूलाई औधी मन पर्नेे स्थान भएको बताए ।
उनले यसको संरक्षण हुनुपर्नेमा जोड दिए । उनले आफूद्वारा लिखित आत्मकथामा जीवनमा भोगेका सबै कुरालाई वर्णन गरेको र देशविदेशमा यो पुस्तक बिक्री गर्ने योजना रहेको बताए । उनले पुस्तक बिक्रीबाट २० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेर अभियान शुरू गरेको र अहिलेसम्म नौ करोड रुपैयाँ बराबरको पुस्तक बिक्री गरिसकेको बताए ।
कार्यक्रममा नागरिक समाज सिम्रौनगढका अध्यक्ष अरविन्द कुशवाहा, सुजित कुशवाहा, मनोज जैसवाल, मोहन अग्रहरी, बतहु यादव, महेन्द्र कुशवाहा, वीरबहादुर कुशवाहालगायतको सहभागिता थियो ।