प्रमोद यादव, पंचगावाँ, ३१ भदौ/
पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको कालाबजारी भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर रु १५६.५० कायम गरेको छ । तर सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर गाउँपालिका र पर्सागढी नगरपालिकालगायत जनता सडक, गण्डक सडक, थरुहट सडकहरूमा रहेका किराना, पान, हार्डवेयर पसल र सडकपेटीमा पेट्रोल अनधिकृतरूपमा महँगो मूल्यमा बिक्री भइरहेको छ ।

ती स्थानहरूमा अहिले प्रतिलिटर पेट्रोल रु १८० देखि २०० सम्ममा बिक्री भइरहेको पटेर्वासुगौलीका मुन्ना तिवारीले बताए ।

ग्रामीण क्षेत्रका पालिकाहरूमा बजार अनुगमन समिति गठन भएपनि चुनावमा मत नपाउने डरले स्थानीय जनप्रतिनिधिहरूले यस प्रकारका गलत क्रियाकलाप गर्नेविरुद्ध कारबाही गर्न नसकेको उनी बताउँछन. । उनले पेट्रोलियम पदार्थको बिक्री वितरण नेपाल आयल निगमसँग अनुमति लिएर उसले तोकेको मापदण्ड अनुसार बिक्री गर्नुपर्ने व्यवस्थाविपरीत अनधिकृतरूपमा बिक्री भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पालिकाहरूमा रहेका बजार अनुगमन समितिले यसविरुद्ध कारबाही गर्नुपर्ने बताए । उनले पालिकास्तरका बजार अनुगमन समितिले काम नगर्दा आगामी दिनमा जिल्लास्तरीय बजार अनुगमन समितिलाई ग्रामीण क्षेत्रमा पठाएर यस प्रकारका ठगी र गैरकानूनी कार्य रोकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here