प्रस, वीरगंज, ३१ भदौ/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कृषि, उद्योग र जनशक्तिको सहयोगमा प्रदेशमा
समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

वीरगंजमा नेपाल उद्योग परिसङ्घको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टर गठन कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले युवालाई स्वदेशमैं स्वरोजगारको अवसर प्रदान गर्नमा महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले युवाहरूलाई विदेश पलायन हुन नदिन स्वदेशमैं सीपयुक्त बनाउँदै टिकाउन सरकारले मञ्चसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सिंहले मधेस प्रदेशमा मुख्यमन्त्रीसँग निजी क्षेत्र नामक कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले सरकारलाई बजेट निर्माणदेखि नीतिगत सुझाव दिंदै आएको बताए । उनले युवा र महिला उद्यमी मञ्चद्वारा उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान भइरहेको सीप नेपाल कार्यक्रम अन्तर्गत हालसम्म ४३ सय युवालाई विभिन्न सीप प्रदान गरिएको बताए ।

मधेस प्रदेश परिसङ्घ अध्यक्ष प्रमोदकुमार साहले युवा उद्यमीलाई एकीकृत गरी प्रदेशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न मञ्चले महŒवपूर्ण भूमिका खेल्ने दाबी गरे । उनले विद्यमान बेरोजगारी समस्या समाधान गर्न नवाचारमार्फत उत्पादनशक्ति बढाउने योजना अघि सारिएको बताए ।

आज भएको भेलाले रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसङ्घको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टर गठन गरेको छ । मञ्चको मधेस प्रदेश च्याप्टरमा अनन्या रूँगटा (लर्निङ चेयर), दीपक साह (स्टार्ट अप चेयर), आयुषी तुल्स्यान (कम्युनिकेशन एन्ड नेटवर्क चेयर), मोहित खण्डेलवाल (फाइनान्स चेयर) र तनुश्री अग्रवाल (मेम्बरशिप चेयर) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here