प्रस, वीरगंज, ३१ भदौ/
वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले गत साउन ११ गते गरेको शिक्षक दरबन्दी मिलानपछि सिर्जित विवाद भदौ २८ गते शुक्रवारदेखि मत्थर भएको छ ।
शिक्षक दरबन्दीबारे महानगरको निर्णयविरुद्ध निरन्तर आन्दोलनरत नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर समिति र महानगरबीच शुक्रवार पाँच बुँदे सहमतिपछि विवाद सुल्झिएको हो । तर द्विपक्षीय यो सहमतिमा नेपाल शिक्षक महासङ्घका शिक्षकहरूले लिखित बुँदामा शिक्षकहरूको माग सम्बोधन नभएको भने र भदौ २९ गते सहमतिमा हस्ताक्षर गरेका शिक्षक महासङ्घ वीरगंज महानगर समितिका अध्यक्ष प्रदीप जैसवालविरुद्ध आक्रोश पोखेका थिए ।
सो बैठकमा अध्यक्ष जैसवालले ३१ जना शिक्षक जो समस्यामा परेका थिए, उनीहरूको दरबन्दी मिलान बदर गरिएको सफाइ दिएका थिए । यसैगरी, अब महानगरले दरबन्दी मिलान गरेकामध्ये तोकिएका विद्यालयमा हाजिर भएर काम गर्दा सिर्जित समस्याको महानगरले समाधान गर्ने आश्वासन दिएको उनले बताएका थिए ।
अध्यक्ष जैसवालको सो कुरामा शिक्षकहरूले असन्तुष्टि जाहेर गरेपछि नेपाल शिक्षक महासङ्घ, पर्साले आज पालिकास्तरीय पदाधिकारीहरूको भेला गरेको थियो । भेलामा पनि अध्यक्ष जैसवालले सोही कुरा दोहो¥याएर भोलि आइतवार ३१ जना समस्याग्रस्त शिक्षकको दरबन्दी मिलानको नाममा भएको सरुवा बदरको पत्र तयार हुने बताए ।
उनले सबै कुरा सहमतिपत्रमा उल्लेख नभएको र आपसी समझदारी कायम भएको जानकारी गराएका थिए । जिल्ला अध्यक्ष तीर्थराज यादवको अध्यक्षतामा बसेको बैठकले सहमति र आपसी समझदारीका विषयमा हुने निर्णयहरूको अवलोकन गरिने र महानगरबाट पक्षपात गरिएको खण्डमा सिङ्गो जिल्ला विरोधमा उत्रने निर्णय गरेको छ ।
यसैगरी, बैठकले आगामी आमनिर्वाचनमा शिक्षकविरुद्ध लाग्ने पर्साका १४ वटै पालिकाका जनप्रतिनिधिलाई पार्टीगतरूपमा निर्वाचनमा नउठाउन र उठाएको खण्डमा सो उम्मेदवार र पार्टीविरुद्ध खुलेर चुनावी मैदानमा विपक्षमा मत माग्ने निर्णय गरेको छ । शिक्षकहरूलाई आग्रह, पूर्वाग्रह, आर्थिक र नातावाद, कृपावादका आधारमा वर्गीकरण गरेर पालिकाका प्रतिनिधिहरूले रिस साँध्ने काम गरेको शिक्षक महासङ्घ पर्साले ठहर गरेको अध्यक्ष यादवले बताए ।
वीरगंज महानगर शिक्षा महाशाखाले साउन ११ गते ४६८ जना प्रअ, शिक्षक, बालविकास शिक्षिका र कर्मचारीहरूको एकमुस्ट दरबन्दी मिलान गरेदेखि सो अवधिमा महानगरको शिक्षा क्षेत्र प्रभावित भएको थियो ।