बहुदरमाई–वीरगंज जोड्ने गण्डक पुलको पाया भाँसियो, पुलबाट सवारीसाधन र मानिसहरूको आवतजावतमा रोक

प्रस, वीरगज, ३० भदौ/
बहुदरमाई नगरपालिका–वीरगंज महानगरपालिका जोड्ने गण्डक नहरको पुलको पिलर शनिवार रातिदेखि चर्किएर पुल ढल्ने अवस्थामा पुगेको छ ।

सो पुलको अवस्था जीर्ण भएकाले यस अघि पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । हिजोदेखि मानिसहरूको आवतजावतमा पनि रोक लागेपछि स्थानीयहरू पुल मुनि खोला तरेर आवतजावत गरिरहेका छन् ।

पुलको अवस्थाबारेमा जानकारी लिन आइतवार प्रदेशसभा सदस्य श्याम पटेल, पूर्वनगरप्रमुख नितेन्द्र साह, नारायणी सिंचाइ डिभिजन कार्यालयका प्रमुख मनोद पटेल, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवानलु हक, गण्डक नहरका प्राविधिक टोली घटनास्थलको अवलोकन गर्न पुगेका थिए ।

नारायणी सिंचाइका प्रमुख पटेलले आफ्नो तहबाट यसबारेमा लिखित जानकारी गराएको बताए । उनले हिजोदेखि पुलको अवस्था गम्भीर भएको र पुल भास्सिएको खण्डमा थप समस्या सृजना हुने बताए । पुलको उत्तरतर्फ गण्डक नहरको क्यानल रहेको र पुल त्यसतर्फ खसेको खण्डमा गण्डक नहरलाई ठूलो क्षति हुने र किसानहरूलाई पानीको समस्या सिर्जना हुने बताए ।

प्रदेशसभा सदस्य पटेलले सूचना पाएपछि आफू यसबारेमा चिन्तित भएको र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए । उनले पुलबाट मानिसहरूको पनि आवतजावत हाल रोकिएको र सवारीसाधनहरू केही समयदेखि सञ्चालनमा रोक लागेको बताए । गण्डक नहरको रेखदेखका सो सडक निर्माण गरिएको थियो । सडकमा निर्मित पुल लगभग पाँच दशक बढी भइसकेको प्राविधिकहरूले बताए ।

गण्डक नहरको रेखदेखका लागि बनेको सो सडकखण्डमा पछिल्लो समय ग्रामीण क्षेत्रसम्म जाने साना तथा ठूला सवारीसाधनहरू सञ्चालनमा थिए । जसले गर्दा गण्डक नहरको सडकसँगै पुलको अवस्था पनि बिग्रिएको हो । भारत सरकारले सन् १९७३ मा गण्डक नहर बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नारायणी सिंचाइ डिभिजन कार्यालय गण्डकका इन्जिनीयर सुरेश साहले भारतको सीमा पर्साको जानकीटोलादेखि रौतहटसम्म २३ वटा पुल छन् ।
सामान्यतया गण्डक नहरको पुलको आयु पचास वर्ष तोकिएकोमा अहिले ५१ वर्ष पुगिसकेकोले अघिकांश पुलहरू जोखिमा छन् । उनले म्याद सकिएका पुलहरू मर्मतसम्भारका आधारमा धेरै दिन टिक्न नसक्ने बताए । गण्डक नहरमा रहेका पुलहरू नै पर्सा, बारा र रौतहट उतिखेर पक्की पुलका रूपमा थिए । खोलाहरूमा पक्की पुल थिएन र कतिपय खोलामा काठे पुल मात्र थियो । अहिले धेरैजसो खोलाहरूमा पक्की पुल निर्माण भएका छन । तर पनि गण्डक नहर भएर पर्सा, बारा र रौतहटका विभिन्न स्थानहरूमा आवतजावत गर्न सुविधा छ ।

इन्जिनीयर साहले बहुदरमाई–वीरगंज जोडने पुलको यो अवस्था भएपछि अन्य पुलहरूमा पनि सवारीसाधनहरूको आवतजावतमा रोक लगाउनुपर्ने बताए । यसो नगर्दा पछि समस्या आइपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here