नितेश कर्ण, वीरगंज, ३० भदौ/
सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिकामा करोडौंको लगानीमा सुविधासम्पन्न बसपार्क निर्माण भएपनि सञ्चालनमा आउन सकेको छैन ।
मलङ्गवा नगरपालिका–२ मा नयाँ बसपार्क निर्माण भएको दुई वर्ष बितिसक्यो तर अहिलेसम्म सञ्चालनमा आउन भने सकेको छैन । बस व्यवसायीहरूले नयाँ बसपार्कको निर्माण अपायक स्थानमा भएकोले सो स्थानमा बस सञ्चालन गर्दा समस्या हुने बताएका छन् ।
बस व्यवसायी सङ्घका प्रतिनिधि दीपलाल महतोले बसपार्क स्थानीय व्यवसायीहरूसँग रायसल्लाह नगरी निर्माण भएको र अपायक स्थान परेकोले त्यहाँबाट बस सञ्चालन हुन नसकेको बताए । उनले सो स्थानबाहेक रायसल्लाहमा अर्को स्थानमा बसपार्क निर्माण भएको भए सहज सञ्चालन गर्न सकिने बताए ।
पुरानो बसपार्क रहेको बजार क्षेत्रभन्दा नयाँ बसपार्क करीब डेढ किलोमिटरको दूरीमा छ । जिल्ला प्रहरी कार्यालय छेउमैं बनाइएकोले सुरक्षाको राम्रो प्रबन्ध हुन सक्ने भएपनि बस सञ्चालन नहुँदा समस्या भएको स्थानीय व्यवसायी महेश यादव बताउँछन् । पुरानो बसपार्क कृषि विकास बैंकको जग्गामा छ । पानी पर्दा हिलाम्य र सुक्खायाममा धूलाम्य हुने गरेको कारण यो क्षेत्रबाट बस सञ्चालन हुँदा यात्रीहरूलाई पनि समस्या छ ।
यसका साथै बजार क्षेत्रमा भएकोले बेलाकुबेला सवारीसाधनको जाम लाग्ने गरेको छ । बस सञ्चालकहरू भने पुरानो चल्तीको क्षेत्र छाडेर नयाँ क्षेत्रमा जाँदा यात्रु नभेटिने भयले ग्रसित छन् । मलङ्गवा यातायात प्रालिका एकजना व्यावसायीले यस्तै गुनासो पोखे । उनले नयाँ बसपार्कमा यात्रु नपाइने समस्या हुन सक्छ, त्यसैले हामी व्यवसायीहरू त्यँहाँ जान नमानेका हौं । यसबारेमा नगरपालिकाले कैंयनपटक बैठक बसी सकेको छ तर थोरै सङ्ख्यामा मात्र बसहरू नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।
अधिकांश बस अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । मलङ्गवा नपाका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदीले नयाँ बसपार्क सञ्चालनका लागि नपाले छिट्टै ठोस निर्णय गर्ने बताए । उनले सुविधासम्पन्न बसपार्क निर्माण भएपछि सोही स्थानबाट सबै खाले सवारीसाधन सञ्चालन व्यवस्थापनको कार्य गरिने बताए ।