प्रस, वीरगंज, ३० भदौ/
युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता निर्धारित समयमैं हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा मन्त्री चौधरीले १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मङ्सिर २ देखि ९ सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने घोषित समयमा हुने बताए । उनले १०औं राष्ट्रिय खेलकूदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
मन्त्री चौधरीले भने– पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाला निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकूद मन्त्री सबैको जोश–जाँगर छ र सङ्घीय सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकूदको गतिविधि अब व्यापकरूपमा सुरुआत हुन्छ ।
रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिन अघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैंअगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए ।
१०औं राष्ट्रिय खेलकूद प्रतियोगिताको समापनमैं ११औं राष्ट्रिय खेलकूल मधेस प्रदेशमा हुने घोषणा गरिने बताए ।
१०औं राष्ट्रिय खेलकूद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उनले बताए । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछन् । बाँकी खेल नेपालगंज वा काठमाडौंमा हुने मन्त्री चौधरीले बताए ।
मन्त्री चौधरीले खेलकूदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरूपको काम गर्न नसकिएको गुनासो गरे । अहिले केन्द्र सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उनले दुःखेसो पोखे । खेलकूदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ, त्यस कारण तालीम सञ्चालन गर्न, खेलाडीलाई तलब दिन सजिलो नभएकाले विभिन्न सङ्घहरूले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेको उनले बताए ।
मन्त्री चौधरीले मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताए । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम शुरू हुने उनको भनाइ थियो ।
यो सरकारको पहिलो निर्णय कीर्तिपुर रङ्गशाला तीन सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेको उनले बताए ।