• शीतल महतो

नेपाल ६८ प्रतिशत पहाड, १७ प्रतिशत हिमखण्ड र १५ प्रतिशत समथर भूभाग भएको मुलुकमा यातायातको सहजता र पानी आपूर्तिका लागि डाँडा, पहाड र खोला ढिस्काको तल सुरुङ खनेर छिटो र छोटो पूर्वाधार बनाउनुलाई अति उत्तम विकासको मोडलको रूपमा लिन सकिन्छ । विकासको काम र यातायातलाई छिटोछरितो बनाउने क्रममा सुरुङमार्ग अति महŒवपूर्ण पूर्वाधारको रूपमा लिइन्छ तर सडकमार्गभन्दा यो बढी महँगो भएकोले सबै ठाउँमा सुरुङमार्ग बनाउन महँगो पर्छ । जीमनको तल खन्नुपर्ने भएकोले यो वातावरणीय दृष्टिले दीर्घकालमा भूक्षयको कारक बन्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । तर पनि नेपालले केही ठाउँमा दुई भूगोललाई छिटो जोड्नका लागि यो पूर्वाधारको आवश्यकता त्यतिकै महŒवपूर्ण छ । नेपालको भूबनोटलाई हेर्दा धेरै ठाउँमा सुरुङमार्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ । एक किलोमिटर सुरुङमार्ग बनाउने खर्चले १५० किमी बाटो बनाउन सकिन्छ । विकासको आधार बजार हो र बजारको आधार उत्पादन हो, यो विषयमा गहन चिन्तन एवं लाभ–लागत विश्लेषण गरेर मात्र सुरुङमार्ग निर्माणको आयोजना छनोट गरिनुपर्छ ।

हुनत सुरुङ निर्माण अति महŒवपूर्ण तर आर्थिक, प्राविधिक, वातावरणीय र सर्भेको दृष्टिबाट जटिल र महँगो परियोजना हो । विश्वमा पहिलो सुरुङमार्ग सन् १८४३ मा बनेको थियो, जसको नाम थ्याम्स टनेल हो । नेपालमा पनि आजभन्दा झन्डै एक सय वर्ष अघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्केका इन्जिनीयर डिल्लीजङ्ग थापाले हेटौंडानजीकैको चुरियामा निर्माण गरेको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ । दक्षिण एशियामैं सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो । पछिल्लो सयमा मुलुकमा सम्भावना देखिएका १७ वटा सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ । मुलुकमा सडकबाहेक खानेपानी, सिंचाइ र विद्युत् आयोजनासमेतका लागि करीब २७५ किमी सुरुङ निर्माण भइसकेको छ तर सवारीसाधन गुड्ने अत्याधुनिक सुरुङमार्गका रूपमा नागढुङ्गा रहनेछ । नौबिसे–थानकोट सडकखण्डको पिपला घुम्ती उकाल्न र त्यहाँ सडक चौडा गर्न नमिल्ने धरातलीय अवस्थाले राज्यलाई नागढुङ्गा सुरुङ निर्माणका लागि बाध्य बनाएको हो । यसरी नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महŒवाकाङ्क्षी आयोजनाका रूपमा हेरिएको नागढुङ्गा सुरुङमार्ग छिचोलिसकेको छ । धादिड्ढो सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका– १ मा रहेको टोटीपाखामा यो सुरुङमार्ग जोडिएको हो । नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई सुरुङमार्ग निर्माण भएपछि थप सहज हुने विश्वास लिइएको छ । दुई दशमलव आठ किमी लामो छिचोलिएको यो सुरुङमार्गमा एक वर्षपछि नियमितरूपमा सवारी आवागमन हुने जनाइएको छ । जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले ठेक्का पाएको सो सुरुङमार्ग निर्माणको कुल लागत झन्डै २२ अर्ब रुपैयाँ रहेको छ । यो सुरुङमार्ग निर्माण भएपछि सङ्घीय राजधानी काठमाडौं जोड्ने जीवनरेखा नागढुङ्गाको जामबाट यात्रुले मुक्ति पाउनेछन् । यो सुरुङ सञ्चालनमा आएसँगै यात्रामा समयका हिसाबले ४० मिनेट बचत र दूरीका हिसाबले साढे चार किमी कम हुनेछ । दशकौं पहिलेको सवारी चापलाई मध्यनजर गरेर बनाइएको साँघुरो सडकले अहिलेको सवारी चाप धान्न सकेको थिएन । नागढुङ्गामा बनेको छोटो सुरुङमार्गले मुलुकको पूर्वाधार विकासमा नयाँ आशा पलाएको छ । यसको प्रशंसा गरिराख्नेभन्दा यस्ता सुरुङमार्ग देशमा अन्य भागमा विस्तार गरेर पहाडी सडकलाई सुरक्षित र छोटो बनाउनु अहिलेको आवश्यकता हो ।

हुनत सिंचाइ, विद्युत् र पर्यटकीय हिसाबले महŒवपूर्ण मानिएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङमार्ग पनि छिचोलिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ स्थित कानढुङ्ग्रीसम्मको करीब १३.३ किलोमिटर दूरीको यो सुरुङमार्ग नेपालको व्यावसायिक सुरुङमार्ग ‘ब्रेक थ्रु’को यो दोस्रो संस्करण हो । यस अघि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजना सिन्धुलीमा बने पनि यो धेरै जिल्लाका लागि फलदायी हुने विश्वास लिएको छ । आयोजना अन्तर्गत सुनकोशीको पानी मरिन खोलामा खसालिन्छ, जसबाट दक्षिणका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुग्ने आयोजनाको भनाइ छ । जसबाट खाद्य असुरक्षा सामना गरिरहेको नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । विद्युत् उत्पादन यो आयोजनाको अर्को महŒवपूर्ण पाटो हो । कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध बाँधेर कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने योजना रहेको छ । जसबाट ३१ मेगावाट विद्युत् निकालिनेछ । तर यो कार्य भने आयोजनाका दोस्रो चरणमा हुने बताइएको छ । जसबाट नेपालको विद्युत् क्षमता विकास भई बहुआयामिक फाइदा हुने अनुमान गर्न सकिन्छ । यही आयोजनाछेउबाटै निर्माण भएको मदन भण्डारी राजमार्गले पूर्वी नेपालबाट एकैपटक हेटौंडा निस्की त्यहाँबाट सुरुङ मार्ग हुँदै छोटो समयमा राजधानी प्रवेश गर्न पनि सकिन्छ । बाह्य र आन्तरिक पर्यटकका लागि करीबकरीब भर्जिन क्षेत्र भएकोले यो राजमार्ग र आयोजना क्षेत्रको दृश्यावलोकन, अध्ययन र घुमफिरका लागि पनि नयाँ गन्तव्य बन्न सक्नेछ ।

एकपछि अर्को सुरुङमार्ग छिचोलिंदै जानु विकासको गतिमा लम्किरहेको नेपालका लागि सकारात्मक मान्नुपर्छ । अर्कोतर्फ अहिले सुरुङमार्ग छिचोलिएको मात्र हो । फिनिसिङलगायतका काम गर्न अझै एक वर्ष लाग्ने अनुमान छ । त्यसैले ब्रेक थ्रु भएका सुरुङमार्गलाई सञ्चालनमा ल्याउन सकिने गरी कार्य अघि बढाउनुपर्ने चुनौती सरकारसमक्ष छ । अर्कोतर्फ पहाडैपहाडयुक्त मुलुकमा यिनै सुरुङमा चित्त बुझाउने अवस्था पनि छैन । हुनत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तीन दर्जनभन्दा बढी सुरुङमार्ग कुनै अध्ययन र कुनै निर्माणका चरणमा छन् । जस्तो सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग खन्न थालिएको छ । धरान–लेउती, टोखा–छहरे सुरुङमार्ग पनि निर्माण थालिने क्रममा छन् । यो अत्यन्त खुशीको कुरा हो र हुनु पनि पर्छ । वास्तवमा कुनै पनि काम थालनी गर्नु आफैंमा आधा उपलब्धि हो तर नेपालको सन्दर्भमा थालनीबाहेक सम्पन्न हुनु पनि ठूलै उपलब्धि मान्नुपर्ने अवस्था छ । थालिएको दशकौंसम्म पनि सम्पन्न नहुने समस्याले यहाँका धेरै आयोजना थलिएका छन् । सम्पन्न कतिपय काम पनि चाँडै बिग्रने, भत्कने जस्ता नियतिबाट ग्रस्त छन् । त्यसैले सवाल थाल्नु, सम्पन्न हुनुभन्दा पनि त्यो गुणस्तरीय छ कि छैन भन्ने पनि बन्ने गरेको छ । यी वास्तविकतालाई ध्यान दिई अब यस्ता महŒवपूर्ण कार्यलाई दिगो बनाउन गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

मुलुकमा सडक, सुरुङमार्ग, पुल, विमानस्थल र सञ्चार सञ्जाललगायतका पूर्वाधारमा लगानी आर्थिक समृद्धिका लागि महŒवपूर्ण हुन्छ । सुधारिएको पूर्वाधारले व्यापारलाई सहज बनाउँछ, दुर्गम क्षेत्रहरूलाई बजारसँग जोड्छ र लगानी आकर्षित गर्छ । जसले गर्दा सार्वजनिक–निजी साझेदारी र वैदेशिक लगानीले पूर्वाधार विकासलाई गति दिन महŒवपूर्ण भूमिका खेल्न सक्छ । समग्रमा सुरुङमार्ग निर्माणमा स्थानीय जनसमुदायको अत्यधिक प्रतिनिधित्व हुने गरी आर्थिक समृद्धि तथा विकासको रणनीतिलाई व्यावहारिकरूपमा लागू गर्नुपर्छ । यसले विकासोन्मुख मुलुकको पङ्क्तिबाट नेपाललाई क्रमशः विकासशील तथा विकसित मुलुकका लागि यात्रा तय गर्न सहज हुन्छ । पूँजी नभएर देश विकसित नभएको होइन, भएको पूँजीको उचित व्यवस्थापन गरी उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै मुलुकमा नै रोजगारको अवसर सिर्जना गर्न नसक्नु नै हो । त्यसैले गुणस्तरीय सुरुङमार्गको निर्माणमा जोड दिंदै अहिलेको विप्रेषणमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्दै लैजानुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here