प्रस, वीरगंज, २३ भदौ/
खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले वीरगंज महानगर र आसपासका क्षेत्रमा देखिएका पानीको समस्या समाधानका लागि विशेष प्राथमिकता दिएको बताएका छन् ।
जनता समाजवादी पार्टी वीरगंज महानगरपालिका–१६ एकाइ समितिद्वारा आइतवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादवले पानीको समस्या दीर्घकालीन समाधानका लागि मन्त्रालयबाट प्राथमिकताका साथ ठोस योजना अघि सारेको दाबी गरे ।
उनले पानीको समस्याले जनतालाई निकै दुःख भएको र यसमा आफू निकै गम्भीर भएको बताए । यसैले आफ्नो निर्देशनमा मन्त्रालयले खानेपानीको दीर्घकालीन समाधान गर्न ठोस योजनाहरू तयार गरिरहेको जानकारी गराए । उनले यस विषयमा विशेष ध्यान केन्द्रित पारेको र शीघ्र समाधान हुने प्रतिबद्धता पनि जाहेर गरे ।
मन्त्री यादवले पार्टीको नीति जनसेवा भएको र सोका लागि आफू निरन्तर सक्रिय रहेको बताए । उनले आगामी चुनावमा जसपाले जनसमर्थन पाउनेगरी पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै गएको बताए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख एवं जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफू पूर्ण समर्पण रहेको दाबी गरे । उनले भने, “जनसेवा आफ्नो पहिलो प्राथमिकतामा रहेको र जनताका समस्याहरूलाई तदारूकताका साथ समाधान गर्नेगरी काम गरिरहेको छु ।” उनले आफ्नो टीम वीरगंजको समृद्धि र विकासको लागि निरन्तर क्रियाशील रहेको बताए ।
कार्यक्रममा जसपा वीरगंज महानगर समितिका सचिव फरिद आलम, जिल्ला सदस्य लालदेव यादव, वडा एकाइ समितिका अध्यक्ष अरुण यादवलगायतको सहभागिता थियो ।