प्रस, वीरगंज, २३ भदौ/
जिल्ला प्रहरी कार्यालय, पर्साले आइतवार सूचना जारी गर्दै डिजे, स्पीकर र लाउडस्पीकरहरू ठूलो आवाजमा बजाउन तथा आतिशबाजीमा रोक लगाइएको जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले राजनीतिक, धार्मिक, सांस्कृतिक कार्यक्रम, चाडपर्व, धार्मिक ¥याली, जुलुस, सम्मेलन, बैठक वा प्रचारप्रसार गर्दा मानव स्वास्थ्यलाई असर पर्नेगरी डिजे, स्पीकर र लाउडस्पीकरहरू ठूलो आवाजमा बजाउन तथा आतिशबाजीमा रोक लगाउने निर्णय भएको बताए ।
समितिको निर्णयको बर्खिलाप गर्नेलाई कानून बमोजिम कारबाही गरिने उनले चेतावनी दिएका छन् ।
कारबाहीमा समस्या
जिल्ला प्रहरी कार्यालय, पर्सा र जिल्लाका विभिन्न पालिकाहरूको डिजे, स्पीकर र लाउडस्पीकरहरू ठूलो आवाजमा तथा भोजपुरी अश्लील गीत बजाउन नदिने अभियान पुरानो हो । यो अभियान कार्यान्वयनमा नआउँदा ठूलो आवाजमा डिजे बजाउने कार्य रोकिएको छैन । सो कार्य नरोकिनुको कारणमा राजनीतिक तथा सामाजिक दबाबका साथै ठूलो ध्वनिले बजेको प्रमाणित गर्ने यन्त्रको अभाव हो । प्रहरी प्रशासन र स्थानीय पालिकाहरूले निर्णय गर्दा उनीहरू अत्यधिक दबाबको शिकार हुने गर्छन् ।
प्रहरी प्रशासन प्रमुख सरुवाको भयले र जनप्रतिनिधिहरू चुनावमा मत नपाउने भयले धार्मिक, सामाजिक कार्यहरूमा हुने ध्वनि प्रदूषणको विरुद्धमा जान सकेका छैनन् । यसैगरी, ध्वनि मापनको व्यवस्था कानूनमा भएपनि सो मापन गर्ने यन्त्र पर्सा जिल्लामा छैन ।
कारबाही गर्ने निकायसँग यन्त्र नहुँदा अदालतमा यसविरुद्धको मुद्दामा पराजय हुनुपर्ने भयले गलती गर्नेहरूलाई कारबाही गर्ने र सिफारिशका आधारमा छाड्ने कार्य हुने गरेको छ । वीरगंज महानगरपालिकाले हर्न निषेध पनि गरेको थियो भने पोखरिया नपाले अश्लील भोजपुरी गीतमा प्रतिबन्ध लगाएको थियो ।
तर दुवै पालिकाले गरेका यी निर्णयहरू कार्यान्वयनमा आउन सकेनन् । यसैगरी, जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पटकपटक डिजे, स्पीकर र लाउडस्पीकरहरू ठूलो आवाजमा बजाउन तथा आतिशबाजीमा रोक लगाए पनि अहिलेसम्म पूर्ण कार्यान्वयन हुनै सकेको छैन ।