प्रस, वीरगंज, २३ भदौ/
आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले दलाल दलतन्त्रको विरुद्धमा तेस्रो जनआन्दोलनको लागि तयार रहन आफ्ना पार्टी कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

आजपाको मधेस प्रदेश कमिटीको आइतवार वीरगंजमा सम्पन्न बैठकपछि अध्यक्ष साहले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढ्दै गइरहेको, सरकारमा भ्रष्टहरूको बाहुल्यता बढेकाले यो बेथिति रोक्नका लागि तेस्रो जनान्दोलनमा जानुको विकल्प नभएकोमा जोड दिए ।

उनले धोखेबाज दलहरूसँग आफूले दिएको मत फिर्ता माग्ने कार्यलाई अभियानको रूपमा पार्टीले अगाडि बढाउने बताए । उनले भने, “भ्रष्ट शासकहरूलाई कर दिन बहिष्कार गरौं, भगौडा दलालहरूको सम्पत्ति कब्जा गरेर राज्यलाई बुझाऔं, भ्रष्टाचारीलाई जनकारबाही गरौं, काठमाडौंमा जारी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाऔं र यी सबका लागि तेस्रो जनान्दोलन गरौं ।”

बैठकले मधेसमा आम शैक्षिक हडतालको घोषणा, असोज ३ गते संविधान दिवसको दिन संविधानको अन्त्येष्टि यात्रा निकालिने जस्ता निर्णय गरेको पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकले मधेसमा विद्यार्र्थीहरूको अनुपातमा विषयगत र तहगत शिक्षकको दरबन्दीसहित गुणस्तरीय शिक्षाका लागि सङ्घर्षका बाटो अपनाएको सहभागी वक्ताहरूको भनाइ थियो । बैठकले मधेस प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय भएको उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले बताए ।

मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, सचिव बाबुराम कौशिक, श्रीचन्द्र मुखिया लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here