प्रस, परवानीपुर, २३ भदौ/
बारा जिल्ला प्रसौनी गाउँपालिका–६ भलुही बजारको अतिक्रमण हटाइएको छ ।

वर्षौंदेखि ऐलानी जग्गा अतिक्रमण गरिएको ठाउँ गापाको पहलमा हटाइएको गापाध्यक्ष विनोद जैसवालले बताए । उनले सो क्षेत्रमा रहेको करीब सवा चार बिघा ऐलानी सार्वजनिक जग्गा तीन दशकदेखि अतिक्रमणको शिकार रहेकोमा त्यसलाई गापाको पहलमा खाली गराइएको बताए ।

भलुही बजार साँघुरिएपछि गत फागुनदेखि ३५ दिने सूचना जारी गर्दै गापाले अतिक्रमण हटाउन निर्देशन दिएको तर अतिक्रमणकारीहरू अटेर गरेर बसेका कारण आइतवार हटाइएको गापाध्यक्ष जैसवालले बताए । उनले बजार क्षेत्रमा रहेको रामनाथ कुशवाहा, परमानन्द मण्डल, चनारसी साह, शिवपूजन कुशवाहा, शम्भु कुशवाहाले अतिक्रमण गरेर सटरपसल, उद्योग सञ्चालन गर्दै आएको बताए ।

सो क्षेत्रमा रहेका १६ वटा सटरपसल, एउटा उद्योग खाली गराइएको उनले बताए । उनले सटरपसल भाडामा लगाउनुका साथै अतिक्रमणमुक्त क्षेत्रमा बजार सेड निर्माण गरिने बताए । उनले बजार सेड निर्माणका लागि चालू आवको बजेटमा ८० लाख रकम विनियोजन गरिएको जानकारी गराए ।

वडाध्यक्ष बृजकिशोर कुशवाहाले सटरपसल र बजारमा सङ्कलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here