प्रस, सप्तरी, २३ भदौ/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा सप्तरी जिल्लाको तिरहुत गाउँपालिकाका पूर्वउपाध्यक्ष तीर्थमान खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आइतवार अदालतमा मुद्दा दायर गरेको हो । ११ जनाविरुद्ध प्रतिव्यक्ति छ लाख ४५ हजार ६६५ रुपैयाँ अख्तियारको बिगो दाबी छ ।

वडा नं १ देखि ५ सम्म सोलारबत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले सञ्चारकर्मीलाई जानकारी दिए ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनीयर उग्रानन्द पाठक, सबइन्जिनीयर जागेश्वर मण्डलले आर्थिक वर्ष २०७४/७५ मा उक्त योजनाको सम्झौता बमोजिम कार्य नगरेको, कम काम गरी बढी काम गरेको भन्ने प्राविधिक मूल्याङ्कन गरेको पाइएको छ ।

यस्तै, अनुगमन समितिका संयोजक तत्कालीन उपाध्यक्ष खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादवले सोलारबत्ती खरीद तथा जडान योजनाको अनुगमन प्रतिवेदन पेश गर्दा बदनियतपूर्वक वास्तविक भए गरेकोभन्दा बढी कार्य भएको भन्दै नभएको काम देखाएर प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिशसमेत गरेको पाइएको छ ।

त्यसैगरी, निर्माण उपभोक्ता समितिका अध्यक्ष रवेन्द्रकुमार यादव, सचिव धीरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवले निर्माण सम्पन्न भएको भनी कार्यसम्पन्न प्रतिवेदन, बिल भरपाई, डोरहाजिरीलगायतका कागजात तयार गराइ पेश गरेका थिए । उनीहरूविरुद्ध पनि मुद्दा छ ।

यस्तै, अर्को योजनामा सो गाउँपालिकाको वडा नं ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधूरो भवन निर्माण, रङ्गरोगन तथा व्यवस्थापनसम्बन्धी कार्य अधूरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको भन्दै तत्कालीन उपाध्यक्ष खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनीयर खुर्सेदले आर्थिक वर्ष २०७५/७६ मा भ्रष्टाचार गरेको भन्दै ११ लाख १९ हजार ९४९ रुपैयाँ बिगो दाबी गर्दै अर्को मुद्दा पनि दायर गरेको छ ।

गाउँपालिकाका लेखाप्रमुख सोनुकुमार सोनीले योजनाको भुक्तानी गर्दा भए गरेको कार्यको बिल भरपाई चेकजाँच गरी नियमानुसार भुक्तानी गर्नुपर्नेमा त्यस्तो नगरी पाँच लाख ३९ हजार ३८५ रुपैयाँ बढी भुक्तानी गरेको आरोप छ ।

झूटा बिलबीजकबापतको एक लाख ९५ हजार ८९५ समेत गरी सात लाख ३५ हजार २८० रुपैयाँ बराबर बिगो दाबी लेखाप्रमुख सोनीविरुद्ध छ ।

तत्कालीन योजना अनुगमन समितिका सदस्य दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीविरुद्ध पनि अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

अर्को योजना उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्रिका देवीले आर्थिक वर्ष २०७५/७६ मा वडा नं ५ मा पर्यटन क्षेत्रमा गेट निर्माण, अधूरो भवन निर्माण, रङ्गरोगन, संवद्र्धन तथा व्यवस्थापन कार्यको लागि काम गर्दा अनियमितता गरेको आरोप छ ।

उनीहरूलाई सोही रकम बराबर बिगो माग दाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here