प्रस, पोखरिया, २२ भदौ/
मधेस प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले खेलकूदको विकासका लागि मधेस प्रदेश सरकारले चाँडो विधेयक ल्याएर काम गर्ने बताएका छन् ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्रीरामभक्त कुश्ती अखडाको स्थलगत निरीक्षण गर्दै उनले सङ्घ र प्रदेश सरकार खेलकूदसम्बन्धी विधेयक ल्याउँदैछन् र विधेयक आएपछि सोअनुरूपको बजेट विनियोजन गरी खेलकूदको विकास हुने बताए । उनले खेलाडीहरू देशका गहना भएका र उनीहरूको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

श्रीरामभक्त अखडाका प्रशिक्षक नरेश गिरीले पर्सा जिल्लाका पहलमानहरूलाई तीनै तहका सरकारबाट सहयोग नभएको गुनासो गरे । उनले अहिले जिल्लाका विभिन्न स्थानहरूमा पहलमानहरूले आआफ्नो खर्चमा अखडा तयार गर्ने र प्रशिक्षकहरूले पनि स्वयंसेवकको रूपमा काम गर्दै आएको बताए ।

नाम चलेका पहलमानहरूको कीर्तिमान रहेको यो जिल्लामा कुश्ती खेलमा सरकारी अनुदान सहयोग नरहेको र खेलाडीहरूलाई प्रोत्साहन नगरिएकै परिणामस्वरूप पछिल्लो समयमा कुश्ती खेलबाट पहलमानहरूको आकर्षण घट्दै गएको दुःखेसो पोखे । कुश्तीमा जित्दा पालिका, जिल्ला, प्रदेश र देशको नाम हुने तर खेलाडीहरूलाई भने तीनै तहका सरकारबाट सहयोग नगर्ने गजबको विडम्बना यो देशमा देखिएको बताए ।

नेपाल कुश्ती सङ्घ पर्साका अध्यक्ष पिन्टु रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा रामनरेश यादव, बृजकिशोर पटेल, हरेन्द्र साहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here