प्रस, वीरगंज, २२ भदौ/
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था निकै कमजोर भएको बताएका छन् । २१औं निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले आर्थिकरूपमा कमजोर, सामाजिकरूपमा विशृृङ्खलित र राजनीतिकरूपमा भाँडभैलो हुँदा देश पछाडि परेको बताएका छन् ।

अहिले सरकारविरुद्ध नियोजित र प्रायोजित हल्लाहरू थुप्रै चलाइएका चर्चा गर्दै उनले सरकारको विरोध भनेको केही पनि नगरी प्राप्त हुने बहादुरी हो, अहिले मानिसहरू यस्ता भएका छन्, हाम्रो संस्कृति, सभ्यता, सामाजिक मूल्य–मान्यता र समाजको विशेषतालाई कमजोर पार्दै लगिएको प्रम ओलीले बताए ।

उनले भने, “देशलाई हरेक हिसाबले समृद्ध बनाउने सङ्कल्प सरकारले लिएको छ । उनले देशको अर्थतन्त्र माथि उठाउन सबैले मिलेर काम गर्नुपर्ने बताए । प्रम ओलीले कर्मचारी राष्ट्रका मेरुदण्ड भएको बताउँदै राम्रा वा नराम्रा जुनसुकै काममा कर्मचारीको साथ नलिई राजनीतिक मानिसहरूले केही गर्न नसक्ने बताए । उनले भने, “कर्मचारीलाई प्रयोग नगरी केही गर्नै सक्दैनौं, भ्रष्टाचार गर्न पनि कर्मचारीलाई प्रयोग गर्नुपर्छ, यस्तो कुकर्ममा कर्मचारीहरूलाई मेरो आग्रह छ, यसमा सहभागी नहुनुहोस् ।”

अहिले देश र लोकतन्त्रको लागि योगदान गरेका दुईवटा दलको सरकार भएकोले सरकारलाई काम गर्न त्यति अप्ठेरो नभएको बताए ।

संसद्मा आएको निजामती सेवा ऐन संशोधन गरेर सरकार अघि बढ्ने उनले बताए । प्रम ओलीले माओवादीको सशस्त्र द्वन्द्व हिंसात्मक आन्दोलन नै भएको दाबी गरे ।

“हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुप¥यो, केही मानिसहरूले महिमामण्डन गरेको सुन्छु, त्यस्तो महान् थियो भने किन छोडेको त्यो बाटो र किन आउनुप¥यो शान्ति प्रक्रिया,” उनले भने, “त्यस्तो महान् जनयुद्ध नै थियो भने त सफल पार्नुपर्ने । उनले जनयुद्ध जनआन्दोलन हो भने पनि त्यो फेल हुँदैन, जन भइसकेपछि फेल हुँदैन भनी तीखो आलोचना गरे ।

झापा आन्दोलनताका आफूले लिएको नीति सही नभएको उनले विश्लेषण गरे । हिंसाको महिमामण्डन गरेर अगाडि बढ्न सकिंदैन उनको भनाइ थियो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरे । उनले सीमित स्रोत र साधनका बावजूद राष्ट्रको सेवामा अहोरात्र खटिरहेका निजामती कर्मचारीहरूको मनोबल उच्च राख्न र उत्प्रेरित गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताए ।

मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा ऐन छिट्टै संसद्बाट पारित गर्ने प्रतिबद्धता जनाउँदै यो ऐनले कर्मचारीतन्त्रमा देखिएका अस्पष्टता र अन्योलताहरू हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here