प्रस, धनुषा, २२ भदौ/
धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ७४औं अवतरण दिवसको अवसरमा १० जोडीको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ । यस विवाहमा कुनै प्रकारको सरसामान, नगद लेनदेन नभएको जनाइएको छ ।

सो अवसरमा सबै आगन्तुकलाई खाने र बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भण्डारामा गरिएको थियो । १७ मिनेटको गुरुवाणीद्वारा ३३ कोटि देवीदेवताको स्तुति उक्त विवाह सम्पन्न भएको थियो । समाजबाट दाइजोरूपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको आयोजकले जनाएको छ । दाइजोमुक्त विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तन भइरहेको पनि आयोजकले जनाएको छ ।

सो अवसर रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा अनुयायीहरूले नेपाल रेडक्रस सोसाइटीलाई १७० युनिट रक्तदान गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेशका सुरक्षा निकायका उच्च अधिकारीहरूलगायत विभिन्न पालिकाका जनप्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रममा कबीर साहेबको सङ्घर्षका पूरै घटना चित्रण गर्ने आध्यात्मिक प्रदर्शनी पनि लगाइएको थियो ।

कार्यक्रममा शुद्ध घ्यूमा बनेका लड्डु, जेरी, बर्फी, हलुवा प्रसादका रूपमा वितरण गरिएको थियो । विशाल भण्डारामा कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई निश्शुल्क भोजन गराउन तयार रहेको आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो र दोस्रो दिन करीब पाँच लाख श्रद्धालुहरूको सहभागिता रहेको आयोजकले जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here