प्रस, वीरगंज, २१ भदौ/
राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा शुक्रवार वीरगंजमा ‘आर्थिक मन्दी र अर्थराजनीतिक निकास’सम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ ।
अन्तत्र्रिmयामा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले उद्योगी–व्यापारीले राज्यको गलत नीतिको कारण विगतभन्दा वर्तमानमा आर्थिक मन्दीसँगै त्रासमा बाँचि रहेको बताए ।
उनले बैंकमा पैसाको थुप्रो छ, उद्योग–व्यापार चल्न नसक्दा ऋण पनि लिन नसकिएको बताए । पैसा अभावको कारण कामदारहरूलाई हटाउन थालिएको उनले जनाए । निजी क्षेत्रमा अहिले पनि समस्या छ र राज्यले अर्थ चलायमान हुनेगरी नीति बनाएर सुधार गर्नुपर्ने आवश्यकता बताए । निजी क्षेत्रले लामो समयदेखि सुझाव दिंदै आएको तर सुनवाइ नभएको उनले दुःखेसो पोखे ।
उनले सरकारमा अहिले पनि मनोमानी काम गर्ने शैलीले उद्योग– व्यापार अधोगतितर्फ उन्मुख रहेको बताए । बजेट बनाउँदा पनि निजी क्षेत्रको भावनाविपरीत बनेको उनले आरोप लगाए । उनले बजार भन्सार छली भित्रिएका सामानले भरिभराउ रहेका कारण पनि आर्थिक मन्दी कायमै रहेको बताए । आर्थिक नीतिमा सुधार गरी भन्सार छल्ने प्रवृत्तिलाई हतोत्साहित गर्नुपर्ने बताए । चोरी तस्करी बढेर वैध तरीकाबाट भित्रिने सामानहरूलाई पनि अवैध भनेर सुरक्षाकर्मीहरूले व्यापारीलाई दुःख दिइरहेको आरोप लगाए ।
उनले भारत सरकारले मूल्य निर्धारण गरेर जिएसटी लिएका वस्तुहरूमा पनि भन्सारले आफूखुशी मूल्य निर्धारण गरी राजस्व लिने गर्दा सामानको मूल्य बढी व्यापारीहरूलाई घाटा भइरहेको जिकिर गर्दै एकद्वार प्रणालीमा राजस्व लिनुपर्ने सुझाए ।
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ताले सीमावर्ती बजारमा ५० प्रतिशत सामान चोरी तस्करीबाट आइरहेको बताए । उनले चोरी तस्करी सुरक्षाकर्मीहरूकै मिलेमतोमा भइरहेको बताए । एकातिर चोरी तस्करी गराउने र अर्काेतर्फ तिनै सुरक्षाकर्मीले बजार अनुगमनका नाममा व्यापारीहरूको फर्म, गोदाममा छापा मारी कालोबजारीमा मुद्दा चलाउने दोहोरो नीति अवलम्बन गरेकोमा दुःखेसो पोखे ।
उनले विद्युत् अनियमितताका कारण उद्योगहरूको अवस्था दयनीय भएको बताए । लोडसेडिङ घोषणा गरिएको छैन तर विद्युत् ट्रिपिड्ढो नाममा दैनिक आठ घण्टाभन्दा बढी लाइन काटिने गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सरकारको ‘मिस म्याच’ नीतिका कारण देशको विकास हुन नसकेको आरोप लगाए । वीरगंजमा सुक्खा बन्दरगाह हुँदाहुँदै अर्बौं रकम खर्चेर चोभार सुक्खा बन्दरगाह बनाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । निजगढ विमानस्थललाई एयररूट दिएको तर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको कारण राज्यको अर्बौं रुपैयाँ डुबेको बताए । जनताले तिरेको करको रकम सरकारले बैंक ब्याज मात्र तिरिरहेको कारण देशमा मन्दी आएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद स्वर्णीम वाग्लेले राज्यसँग देशलाई अगाडि बढाउने कुनै ठोस नीति नरहेको बताए । उनले ठोस नीति नभएकै कारण सरकारले जे पायो त्यही, जहाँ पायो त्यहीं खर्च गर्दै आएको भन्दै अब रास्वपाले त्यस्तो हुन नदिने बताए । उनले यी सबै बेथितिका बारेमा रास्वपा जनतामाझ पुगेर समस्याहरूको खोजी गरिरहेको र यसमा कसरी सुधार ल्याउने भन्ने विषयमा विचारमन्थन गरी सरकारविरुद्ध खबरदारीमा उत्रने बताए ।
उनले जारी आर्थिक मन्दी हुने कारणको पहिचान गर्ने कार्य भइरहेको र त्यसबारेमा सरकारको ध्यानाकर्षण गराउने बताए । सीमा वारि र पारि वस्तुको मूल्य सामान नहुन्जेल चोरी तस्करी नियन्त्रणमा समस्या हुने भएकोले यसबारेमा पनि ठोस विचार पु¥याउनुपर्ने बताए । कालाबजारी र बैंक कसूरमा मानिस थुनेर कारबाही गर्ने प्रावधान हटाउनुपर्ने र उनीहरूलाई बाहिर बसेर काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए । उनले आफ्नो पार्टी देशको सबैभन्दा कान्छो पार्टी भएपनि विधि विधान र जनताका समस्यालाई उठान गरिरहने दाबी गरे ।
उनले स्थानीय तहलाई अझ मजबूत पारी सङ्ख्या घटाउनुपर्ने सुझाउँदै प्रदेशलाई संविधानतः अधिकार दिनुपर्ने अन्यथा खारेज गरिनुपर्ने बताए । संविधानतः अधिकारबाट वञ्चित राखेर प्रदेशलाई काम गर्ने वातावरण नबनाएको खण्डमा प्रदेशको नाममा अनावश्यक खर्च धान्न देश सक्षम नभएको उनको जिकिर थियो ।
जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी जगदीश अग्रवाल, मनोज दास, मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, डा दीपेन्द्र चौधरी, अर्थनीतिका जानकार विनोद गुप्ता, डा राजेन्द्र कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।