प्रस, रौतहट, २१ भदौ/
शिवनगर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तजन, स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

आक्रोशित समूहले बाटो अवरुद्ध गरी टायर बालेर स्वास्थ्यकर्मीविरुद्ध चर्को नाराबाजी गरेका र सो क्रममा करीब दुई घण्टा बाटो अवरुद्ध भएको थियो ।

महिलाको शवलाई स्वास्थ्य चौकीअगाडि राखेर परिवारजन तथा स्थानीयहरूले प्रदर्शन गर्दै नगरप्रमुख, वडाध्यक्ष र स्वास्थ्य चौकीका चिकित्सकविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले चिकित्सकको लापरवाहीबाट मृत्यु भएकी महिलाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने, प्रसूतिगृहमा दक्ष चिकित्सकको प्रबन्ध गर्नुपर्नेलगायतका मागहरू राखेका छन् ।

गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीको प्रसूतिगृहमा स्थानीय अरविन्द साहकी पत्नी रमिताकुमारी साहलाई व्यथा लागेपछि भर्ना गरिएको थियो ।

चिकित्सक नभएको अवस्थामा प्रसूतिगृहका स्वास्थ्य सहायकले शल्यक्रिया गरेर बच्चा जन्माउने प्रयास गर्दा सुत्केरी महिलाको अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्राव नरोकिएपछि स्वास्थ्य चौकीले वीरगंज रेफर गरेको र वीरगंज आउने क्रममा बाटोमैं शुक्रवार बिहान मृत्यु भएको थियो । पीडित पक्ष, प्रहरी र नगरपालिकाका जनप्रतिनिधिबीच छलफल गरेर विवाद साम्य पार्ने प्रयास भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here